‘हजार जुनीसम्म’ को दोस्रो गीत ‘आज नगद भोली उधारो’

गीतको भिडियोमा हास्यकलाकार तथा निर्देशक दीपाश्री निरौला भट्टी साहुनीको भूमिकामा प्रस्तुत भएकी छिन्

जनसम्मत
असार २९, २०७६, आइतबार

पोखरा । निर्देशक तथा निर्माता विकासराज आचार्यले निर्देशन गरेको नयाँ नेपाली चलचित्र ‘हजार जुनीसम्म’ को दोस्रो गीत ‘आज नगद भोली उधारो’ युट्युबमार्फत रिलिज गरिएको छ ।

फिल्मको पहिलो गीत ‘एमजी रोडैमा’ बोलको गीतले सकारात्मक प्रतिक्रिया बटुल्दै गर्दा निर्माण टिमले शुक्रबार दोस्रो गीत स्वरुप ‘आज नगद भोली उधारो’ सार्वजनिक गरेको हो । गीतमा प्रल्हद तिमल्सिना र मिना निरौलाको गायन छ ।

एकनारायण भण्डारीको शब्द रहेको लोकशैलीको गीतमा बसन्त सापकोटाले संगीत भरेका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा हास्यकलाकार तथा निर्देशक दीपाश्री निरौला भट्टी साहुनीको भूमिकामा प्रस्तुत भएकी छिन् । उनीसँग अभिनेता आर्यन सिग्देल र कलाकार शिवहरी पौडेलले ठुम्का लगाएका छन् ।

सार्वजनिक गीतको भिडियोमा फिल्मकी प्रमुख अभिनेत्री स्वस्तिमा खड्का, नव अभिनेता अखिलेस प्रधान, कलाकार उत्तम प्रधानलगायतका कलाकारहरुको पनि फिचर्ड छन् । केही वर्षदेखि ‘नाई नभन्नू ल’ को सिरिज बनाउँदै आएका निर्देशक आचार्यले नयाँ नाममा फिल्म बनाएका कारण दर्शकमा ‘हजार जुनीसम्म’ प्रति निकै चासो र कौतुहलता छ ।

अभिनेत्री तथा निर्देशक दीपाश्री यस फिल्मको उक्त गीतमा मात्र देखिनेछिन् । फिल्ममा आर्यन, शिवहरी, स्वस्तिमा र अखिलेसका अलावा प्रियंका कार्की, संचिता लुईटेल, शिवहरी पौडेल, सलोन बस्नेत, अनुभव रेग्मीलगायतका कलाकारहरुको पनि अभिनय छ । विशाल चाम्लिङको कथालाई फिल्ममा समावेश गरिएको छ । निर्देशक आचार्य र सामिप्यराज तिमिल्सेनाले संयुक्त पटकथा तथा संवाद तयार पारेका छन् ।

भदौ ६ मा रिलिज हुने फिल्मलाई पुरुषोत्तम प्रधानको छायांकन गरेका हुन् । यसमा उदयराज सोताङ, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत भरेका छन् । गीतलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । कविता रेग्मी फिल्मकी कार्यकारी निर्माता हुन् । फिल्ममा अखिलेसको पिताको भूमिकामा अभिनेता आर्यन छन् । ‘हजार जुनीसम्म’मा आर्यनलाई फरक गेट–अपमा देख्न पाइनेछ ।