डा विक्रम तिमिल्सिना बने बालेन सरकारको संचार मन्त्री

पदभार ग्रहणपछि डा तिमिल्सिना भन्छन्, ‘प्रधानमन्त्री शाहको मिसन र भिजनअनुसार काम गर्न प्रतिवद्ध छु’

जनसम्मत
चैत्र १३, २०८२, शुक्रबार

कवि डा विक्रम तिमिल्सिना बालेन सरकारको संचार तथा सूचना प्रविधि मन्त्री बनेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह बालेनको नेतृत्वमा बन्ने सरकारमा तिमिल्सिना संचार तथा सूचना प्रविधि बनेका हुन्।

संचारमन्त्री डा. तिमिल्सिना २०३९ सालमा नुवाकोटको साविक चौघडा–९ तथा हालको पञ्चकन्या गाउँपालिका–१ मा जन्मेका हुन्।

फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा डा तिमिल्सिना नुवाकोट क्षेत्र नम्बर १ बाट विजयी भएका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तिमिल्सिनाले निकटतम प्रतिस्पर्धी काँग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतलाई ४ हजार १२ मतान्तरले पराजित गरी सांसद बनेका हुन्।

उनले अन्तर्राष्ट्रिय सम्बन्धमा पीएचडी गरेका छन्।

तिमिल्सिनाले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजीमा स्नातकोत्तर र अस्ट्रेलियाको क्विन्जल्यान्ड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय अध्ययनमा एडभान्स्ड मास्टर्स गरेका छन्।

साथै अष्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयबाट राजनीति तथा अन्तराष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरेका छन्।

विद्यावारिधि गरेको करिब साढे ३ वर्षपछि उनी नेपाल फर्किएर २०८० मा रास्वपासँग आबद्ध भए र रास्वपाको केन्द्रीय अन्तर्राष्ट्रिय विभागको सदस्यका रुपमा पार्टीमा जोडिए।

यो नै उनको राजनीतिको पहिलो पाइला थियो।

एसियन इन्स्टिच्युट अफ एडभान्स्ड रिसर्चका प्रमुखसमेत रहेका तिमिल्सिना अध्ययन, अनुसन्धान, लेखन तथा पठनमा रुची राख्छन्।

यो चुनावबाट विजय भएर आएका ९ जना विद्यावारिधि गर्ने सांसदमा संचारमन्त्री डा तिमिल्सिना पनि एक हुन्।

१२ वर्षअगाडि रेडियो सगरमाथा छोडेका उनीसँग रेडियोमा ९ वर्ष कार्यक्रम उत्पादक तथा प्रस्तोताको रुपमा काम गरेको अनुभव छ।।

उच्च शिक्षाका लागि अस्ट्रेलिया पुगेका उनी ब्रिस्बनबाट संचालन भएको ‘नेपाल एक्सप्रेस’ का कार्यकारी सम्पादक तथा सिड्नीबाट संचालित साउथ एसिया डटकम डट एयू न्युज पोर्टलको सम्पादकीय सल्लाहकारसमेत बनेका थिए।

 

नवनियुक्त संचारमन्त्री तिमिल्सिनाबाट पदभार ग्रहण

 

बालेन सरकारमा संचारमन्त्री बनेलगत्तै डा तिमिल्सिनाले गोपनीयताको सपथ साथै पदभार ग्रहण गरे।

गोपनीयताको सपथ लिएपछि लगत्तै शुक्रबार सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका हुन्।

नवनियुक्त संचार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र शाहको मिसन र भिजनअनुसार काम गर्न आफू प्रतिवद्ध रहेको बताए।

मन्त्री तिमिल्सिनाले मन्त्रीको रुपमा आफूलाईं कुनैपनि खालको गल्ती गर्ने छुट नभएको पनि स्पष्ट पारे।

उनले राष्ट्रको हितमा गर्व गर्न लायक हुनेगरी इमान्दारिताका साथ काम गर्न मातहतका निकायलाई निर्देशन समेत दिएका छन्।

देशको हितमा कर्मचारीहरुले काम गर्नुपर्ने नवनियुक्त संचारमन्त्री तिमिल्सिनाको भनाई थियो।

मन्त्री तिमिल्सिनाले हरेक कर्मचारीले आफ्नो क्षमताको पूर्ण रुपमा सदुपयोग गरेर काम गर्नुपर्ने समय आएको समेत बताए।