
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने १० औं संस्करणको पोखरा स्पोर्ट्स् अवार्डलाई गुरुङ गहना घर प्रालिले साथ दिएको छ।
उक्त कम्पनीले पोखरा स्पोर्ट्स् अवार्डको महत्वपूर्ण विधा ‘पिपल्स च्वाइस अवार्डमा प्रदान गरिने टीभीएस एनट्रक स्कुटर प्रायोजन गर्ने भएको हो।
सो सम्बन्धमा बिहीबार पोखराको न्यूरोडस्थित कम्पनी परिसरमा आयोजित समारोहमा मञ्चका तर्फबाट अध्यक्ष एमबी आस्था र गुरुङ गहना घर प्रालिका तर्फबाट संचालक सीमा गुरुङबीच सहमति–पत्रमा हस्ताक्षर भएको छ।
सो अवसरमा संचालक गुरुङले खेलाडी भनेका देशकै गहना भएकाले आफूले सहयोग गर्न चाहेको बताइन्।
हालै मात्र नेपाली फुटबलर ‘साम्बा’ ले उपचार सहयोगार्थ गरेको याचनाले आफू संवेदनशील बनेको उल्लेख गरिन्।
खेलाडीको सम्मानमा हुन लागेको पोखरा स्पोर्ट्स् अवार्डमा जोडिएको बताइन्।
आफू विदेश नगई स्वदेशमै केही गर्न चाहेकाले व्यवसायमा हात हालेको जानकारी दिइन्।
मानिसले चाहेमा स्वदेशमै पनि प्रगति गर्न सकिने उनको भनाई थियो।
सहयोगप्रति मञ्चका अध्यक्ष एमबी आस्थाले आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरे।
आगामी वैशाख १८ गते हुने उक्त अवार्डमा विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने मूल आयोजक समिति अध्यक्ष समेत रहेका मञ्च अध्यक्ष एमबी आस्थाले जानकारी दिए।
गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद् गण्डकीसहित कास्कीका पोखरा महानगरसहित पाँचै वटा पालिकाको विशेष सहयोग रहनेछ।
अवार्ड सफल पार्न विभिन्न संघसंस्थाले सहयोग गर्ने क्रम जारी छ।