नेपाल पत्रकार महासंघले मनायो ७१ औं स्थापना दिवस

महासंघको केन्द्रीय कार्यालय परिसरसम्म प्रभातफेरी, पत्रकार स्तम्भमा माल्यार्पण

जनसम्मत
चैत्र १६, २०८२, सोमबार

नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघले विभिन्न कार्यक्रम गरी आफ्नो ७१ औं स्थापना दिवस मनाएको छ।

दिवसका अवसरमा महासंघको केन्द्र, प्रदेश, जिल्ला, प्रतिष्ठान शाखा र एसोसिएट संस्थाहरूले देशभर विविध कार्यक्रम आयोजना गरेका छन्।

महासंघ केन्द्रीय समितिको आयोजना र उपत्यका प्रदेश समितिको संयोजनमा सिनामंगल चोकदेखि संचारग्रामस्थित महासंघको केन्द्रीय कार्यालय परिसरसम्म प्रभातफेरी आयोजना गर्‍यो।

प्रभातफेरीपछि पत्रकार स्तम्भमा माल्यार्पण गरी आयोजित कोणसभामा महासंघका पदाधिकारी तथा पूर्वअध्यक्षहरूले सम्बोधन गरे।

सभालाई सम्बोधन गर्दै महासंघका अध्यक्ष निर्मला शर्माले महासंघलाई वर्तमान अवस्थासम्म ल्याउन भूमिका खेल्ने अग्रजहरूप्रति आभार व्यक्त गरिन्।

उनले महासंघको विरासत जोगाउन वर्तमान कार्यसमिति प्रतिबद्ध रहेको जनाइन्।

अध्यक्ष शर्माले भनिन्, ‘पछिल्ला दिनमा प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धि भइरहेको छ। यस्ता चुनौतीका बीचपनि नागरिकको अभिव्यक्ति स्वतन्त्रताको पक्षमा लड्ने प्रमुख संस्थाका रूपमा महासंघ अडिग रहनेछ।’

उनले पत्रकारको भौतिक तथा पेशागत सुरक्षाका सवालमा महासंघ कहिल्यै विचलित नहुने दोहोर्‍याइन्।

प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले पत्रकार मर्यादित भए मात्र पेशा मर्यादित हुने धारणा राखे।

मर्यादित ढंगले पेशा निर्वाह गर्ने क्रममा हुने सबैखाले ज्यादतीका विरुद्ध र प्रेस स्वतन्त्रताको रक्षाका निम्ति काउन्सिल सधैं साथमा रहने उनको भनाई थियो।

महासंघका पूर्वसभापति किशोर नेपालले विगतको तुलनामा वर्तमान पत्रकारितामा केही ह्रास आएको उल्लेख गरे।

पत्रकारहरू दलीय भावनाभन्दा माथि उठेर काम गर्नुपर्नेमा जोड दिए।

‘पत्रकारको व्यक्तिगत आस्था जुनसुकै दलमा भएपनि पेशागत रूपमा स्वतन्त्रता र निष्पक्षता प्रस्तुत गर्नुपर्छ, उनले भने।

अर्का पूर्वसभापति हरिहर विरहीले महासंघको गौरवशाली इतिहासबाट प्रेरणा लिँदै आगामी दिनमा थप सक्रिय हुनुपर्ने बताए।

‘महासंघले इतिहासमा धेरै उतारचढाव व्यहोरेको छ। केही समयअघिको असामान्य परिस्थितिले लोकतान्त्रिक संविधान नै संकटमा पर्ने हो कि भन्ने स्थिति उत्पन्न भएको थियो। निर्वाचनले संविधानको रक्षा गरेको छ। यसलाई सार्थक तुल्याउन सबै चनाखो हुनुपर्छ’, उनले भने।

कार्यक्रममा महासंघका निवर्तमान वरिष्ठ उपाध्यक्ष रमेश विष्टले धारणा राखेका थिए।

कार्यक्रममा महासंघका पूर्वअध्यक्षहरू तारानाथ दाहाल, डा. महेन्द्र विष्ट, महासंघका उपाध्यक्ष, सचिव, कोषाध्यक्ष लगायतका पदाधिकारी, सदस्यहरू तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति थियो।