
पोखरा रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा पुगेको छ।
नेपाली नयाँ वर्षको अवसर पारेर आयोजना हुन लागेको ‘पोखरा नाइट स्ट्रिट रेस–२०८३’ (रात्रिकालीन सडक दौड) को तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ।
पोखरा क्लिक र पोखरा प्रवर्द्धन केन्द्रको आयोजनामा यही चैत २८ गते पोखरामा हुने उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आज (शनिबार) पोखराको फिस्टेल ड्रिम पार्कमा आयोजित पत्रकार सम्मेलन जानकारी गराइएको हो।
५ किलोमिटरको उक्त दौड चैत्र २८ गते बेलुका ७ बजे बाराहीघाटबाट सुरु भई सेन्टर प्वाइन्ट, हल्लनचोक, जिरो कि.मि., सिर्जनाचोक, सभागृहचोक, न्यूरोड, चिप्लेढुंगा हुँदै महेन्द्रपुलस्थित झण्डापार्क अगाडि पुगेर सम्पन्न हुनेछ।
रात्रिकालीन व्यवसाय प्रवर्द्धन, शान्ति–सुरक्षा सन्देश प्रवाह र खेलकुदमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको कार्यक्रमका संयोजक दीननाथ बरालले बताए।
‘जाग्छ पोखरा, दौडाउँछ पोखरा’ भन्ने नारासहित आयोजना हुन लागेको दौडले पोखरालाई २४ सै घण्टा सुरक्षित सहरका रूपमा स्थापित गर्न सहयोग पुग्ने उनको भनाई छ।
पोखरा महानगरपालिका–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले ‘रात्रिकालीन दौड’ नयाँ अवधारणाका रूपमा रहेको उल्लेख गर्दै यसले पोखराका विभिन्न क्षेत्रलाई जोड्ने माध्यम बन्ने विश्वास व्यक्त गरे।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले गण्डकी प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको यस्तो प्रतियोगिताले खेल पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुर्याउने बताए।
होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले ‘फेवा नव वर्ष महोत्सव’ को पूर्वसन्ध्यामा आयोजना हुने उक्त प्रतियोगितासँग सहकार्य गरिएको जानकारी दिए।
उनले विदेशी धावकको सहभागिता सुनिश्चित गर्न विशेष पहल गरिने बताए।
फिस्टेल ड्रिम पार्कका निर्देशक कमल बस्नेतले पार्कमा नयाँ संरचना थपिएको जानकारी दिँदै प्रतियोगितामा उत्कृष्ट २० धावकलाई पार्क प्रवेश टिकट उपलब्ध गराइने बताए।
पार्कका मार्केटिङ म्यानेजर कृष्णप्रसाद ढकालले ३० करोड बराबरको आइपीओ जारी गर्ने तयारी भइरहेको जानकारी दिए।
केन्द्रका उपाध्यक्ष असफल गौतमले नेपाली नयाँ वर्ष लक्षित कार्यक्रमहरू कम भइरहेका बेला उक्त दौडलाई प्रभावकारी बनाउने र पोखराको सडक पनि पर्यटन प्रवर्द्धनका लागि सुरक्षित छ भन्ने सन्देश दिने उद्देश्य रहेको बताए।
रेस डाइरेक्टर ओम गुरुङले प्रतियोगिताको प्राविधिक तयारी तीव्र पारिएको भएपनि ट्राफिक व्यवस्थापनमा स्थानीयको पनि साथ र सहयोगको अपेक्षा गरे।
केन्द्रका सचिव सागर सुनारले हाल खेलाडी दर्ता प्रक्रिया जारी रहेको जानकारी दिए।
ईच्छुक सहभागीले पोखरा क्लिकको अनलाइन पोर्टलमार्फत चैत्र २५ गते बिहान ११:५९ बजेसम्म दर्ता गर्न सक्नेछन्।
प्रतियोगितामा खुला, महिला, विदेशी र यु–१६ गरी ४ विधामा प्रतिस्पर्धा हुनेछ।
खुलातर्फ विजेता, दोस्रो र तेस्रोले क्रमश: १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र पाउनेछन्।
अन्य विधाका विजेतालाई ७ हजार रुपैयाँसहित प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ।
सहभागी धावकलाई बीमा सुविधा, रिफ्लेक्टिभ टिसर्ट उपलब्ध गराइनेछ।
हेडल्याम्प प्रयोग गर्न सकिने व्यवस्था गरिएको आयोजकले जनाएको छ।
करिब ७ लाख रुपैयाँ लागतमा सम्पन्न हुने प्रतियोगिता प्रदेश खेलकुद परिषद् गण्डकीको सहकार्य तथा पोखरा ९ नं वडा कार्यालयको समन्वयमा तथा विभिन्न संघसंस्थाको सहयोगमा आयोजना हुँदैछ।
यस दौडले पोखराको शहरी गतिशीलता, सुरक्षित वातावरण र स्वस्थ जीवनशैलीप्रतिको सन्देश प्रवाह गर्नुका साथै नयाँ वर्षमा पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ।
प्रतियोगितामा पोखरा महानगरपालिका र पोखरा भ्रमण वर्ष २०२५/०२६ प्रवर्द्धक रहेको प्रतियोगितामा सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, फिस्टेल ड्रिम पार्क, शान्ति निकेतन स्कूल, हिमश्री फुड्स, चाइनिज गार्डेन रेष्टुरेण्ट, सहारा क्लब, होटल संघ पोखरा नेपाल, रेवान पोखरा, पोखरा पर्यटन परिषद्, अटोवेज प्रा.लि., सिटीजन फर्निचर, परिचय एड्भरटाइजिङ, पोखरा वडा नं. ३, ५, ६, ७, ८, ११, जिल्ला खेलकुद विकास समिति कास्की, टान गण्डकी, पोखरेली ट्याक्सी सेवा प्रा.लि., पोखरा उद्योग वाणिज्य संघ, समियोग टुरिष्ट रिसोर्ट, नाट्टा गण्डकीसहित विभिन्न संघसंस्थाको सहयोग रहने छ।
मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर हस्पिटल पार्टनर र नेलम्बो नेपाल मेडिकल पार्टनर रहेका छन्।
धावकहरुले हाल पोखरासहित देशका विभिन्न स्थानबाट फारम भर्न थालेको आयोजकले जनाएको छ।