
बागलुङमा आज (शुक्रबार) देखि मिडिया मेला सुरु भएको छ।
पत्रकार महासंघ बागलुङ शाखाले आफ्नो २५ औं स्थापना दिवस (रजत वर्ष) को अवसरमा मिडिया मेलाको आयोजना गरेको हो।
बागलुङलाई मिडियाको माध्यमबाट उजागर गरी निजी क्षेत्रको लगानी भित्राउन मिडिया मेलाको आयोजना गरिएको हो।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मिडिया मेलाको उद्घाटन गरेका हुन्।
मुख्यमन्त्री पाण्डेले कार्यक्रममा बोल्दै सरकार अधिनायकवादी र तानासाही बन्दै गयो भने पत्रकार र संचारमाध्यमले खवरदारी गर्नुपर्ने बताए।
उनले सरकारी संचार माध्यममा मात्र बिज्ञापन प्रकाशन र प्रसारण गर्ने भन्ने वर्तमान सरकारको निर्णयले संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रतालाई वर्तमान सरकारले अंकुश लगाउन खोजेको टिप्पणी गरे।
उनले खुल्ला अर्थतन्त्रमा सरकारी र निजी दुबै मिडियाबीच प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिए।
बिहिबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा एसईईको कपि सोही केन्द्रमै जाँच्ने निर्णपनि व्यवहारिक नभएको बताए।
वर्तमान सरकारले नयाँ गर्ने नाममा अव्यवहारिक क्रियाकलाप गर्दै गएको उनको टिप्पणी थियो।
उनले गण्डकी सरकारले अभिव्यक्ति स्वतन्त्रताको सदैव सम्मान गर्ने बताए।
समाजका लागि खवरदारी गर्नुपर्ने पत्रकारिता जगत अहिले आफ्नै लागि लड्ने स्थितिमा आएको उनको भनाई थियो।
सो अवरमा नेपाल पत्रकार महासघंका महासचिव रामप्रसाद दाहालले सरकारले हालै जारी गरेको परिपत्रले साना मिडियालाई संकटमा पारेको भन्दै सबै मिलेर खवरदारी गर्नुपर्ने बताए।
कार्यक्रममा महासघंका पूर्वकेन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले मैथिली भाषामा लेखिएको जगन्मुक्ति नामक पुस्तक ‘यात्रा स् हिमालय पार सँ समुद्र तट धैर’ को विमोचनसमेत गरिएको थियो।
बागलुङलाई राष्ट्रिय रूपमा चिनाउन मिडिया मेलाको आयोजना गरिएको पत्रकार महासंघ बागलुङले जनाएको छ।
बागलुङ बजारमा सुरु मेलामा देशभरका पत्रकारको सहभागिता रहेको पत्रकार महासंघ बागलुङ शाखा अध्यक्ष राम थापा ‘अविरल’ ले बताए।
बागलुङमा जन्मेर पत्रकारिताको कर्मथलोलाई विभिन्न स्थानमा पुर्याएका पत्रकारलाई गृह जिल्लाको समृद्धिमा चासो दिने, पुनर्मिलन गराउने, निजी क्षेत्र र पालिका बीचको सम्बन्ध बढाउँदै बागलुङ बजारको ५० वर्ष पुराना इतिहास झल्काउने तस्बीरसमेत प्रदर्शनीमा राखिएका छन्।
मेलामा ८ सेसनको प्यानल डिस्कसन हुनेछन्।
मेलामा पुराना संचार सामाग्री प्रदर्शनसमेत गरिनेछ।
पत्रकारिता, संचारमाध्यम, पत्रकारको बदलिँदो भूमिका र ग्रामीण पत्रकारिताको महत्व उजागर गर्न र यस क्षेत्रमा सबैको ध्यान केन्द्रीत गर्न मेलाले सघाउने विश्वास लिइएको छ।
मेलामा गण्डकी प्रदेशका मुख्यमन्त्री, पत्रकार महासंघका पदाधिकारी, गण्डकी प्रदेशका ११ जिल्लाका पत्रकारहरुको समेत उपस्थिति रहेको छ।
मेला प्रवर्द्धनमा सघाउने निजी क्षेत्रको व्यावसायिक स्टलहरू समेत रहेको छ।
मेलामा राष्ट्रिय र स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुत रहनेछ।
मेलामा २५ हजार जनाले मेलाको अवलोकन गर्ने अनुमान गरिएको शाखाका उपाध्यक्ष सुवास आचार्यले बताएका छन्।
मेलामा आन्तरिक पर्यटक भित्राएर उनीहरूलाई बागलुङका संचारमाध्यम, पुस्तकालय, धार्मिक तथा पर्यटकीय गन्तव्यमा भ्रमण गराउने उद्देश्यसमेत रहेको शाखाका सचिव नारायण रिजालले जानकारी दिएका छन्।
मेलामा विद्धत प्रवचन, प्यानल डिस्कसन, बागलुङे पत्रकारहरूको पुनर्मिलन, भित्तेपत्रिका लेखन प्रतियोगिता, तस्बिर प्रदर्शन, लाइभ पेन्टिङ, संचार सामग्री र उपकरणको प्रदर्शनीसमेत रहेको छ।
बहस कृषि, उद्यम र पर्यटनमा केन्द्रीत हुने नेपाल पत्रकार महासघं बागलुङका अध्यक्ष राम थापा अविरलले बताए।
मिडिया मेलामा स्थानीय मिडिया सवलिकरण र राष्ट्रिय विषयमा छलफल हुने नेपाल अध्यक्ष राम थापाले बताए।
मेलामा फोटो तथा पुराना संचार सामग्री प्रदर्शनीमा पनि राखिएको छ।
विद्यामन्दिर पुस्तकालयले पनि आफनो ऐतिहासिक पुस्तक, हस्तलिखित पत्रपत्रिका, २०१६ सालको भिडिटर बुक र महत्वपूर्ण पुस्तक र पत्रपत्रिकाको स्टल राखेको विद्यामन्दिर पुस्तकालयका अध्यक्ष रामचन्द्र शर्माले बताए।
उद्घाटन सत्रको कार्यक्रम नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा ‘अविरल’ को अध्यक्षता, उपाध्यक्ष सुवास आचार्यको स्वागत र सविच नारायण रिजालको संचालनमा सम्पन्न भएको थियो।
मेला शनिबारसम्म संचालन हुनेछ।