१४ औं संस्करणको ‘राष्ट्रिय आलु महोत्सव’ को तयारी अन्तिम चरणमा

महोत्सवमा प्रतिकेजी ३५ रुपैयाँमा आलुको कारोवार हुनेछ

जनसम्मत
चैत्र २३, २०८२, सोमबार

१४ औं संस्करणको ‘राष्ट्रिय हेमजा आलु महोत्सव’ को तयारी अन्तिम चरणमा पुगेको छ।

आयोजक विष्णुपादुका क्लवले सोमबार पत्रकार सम्मेलन गरी महोत्सव यही चैत २७ गतेदेखि वैशाख ५ गतेसम्म हुने जनाएको हो।

जसको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ।

महोत्सवमा प्रतिकेजी ३५ रुपैयाँमा आलुको कारोवार हुने जनाएको छ।

मूल आयोजक समितिका संयोजकसमेत रहेका क्लव अध्यक्ष वसन्तकुमार श्रेष्ठले महोत्सवअन्तर्गत आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको ठूलो पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, वोट विरुवा, परीक्षण तथा रोक निधान, कृषक र कृषिसम्बन्धी विविध सांस्कृतिक कार्यक्रम गरिने जानकारी दिए।

त्यस्तै, उनले कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारका प्रस्तुतिलगायत विभिन्न कृषि उपज विउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनीलगायतका गतिविधि पनि गरिने जनाए।

पोखरा महानगरपालिका प्रवक्तासमेत रहेका वडाध्यक्ष मोतिलाल तिम्सिनाले आलु महोत्सवले पोखरालाई विश्व वजारमा चिनाएको धारणा राखे।
महानगर कृषकलाई प्रोत्साहन गर्ने पक्षमा रहेको तिमिल्सिनाले स्पष्ट पारे।

कृषि प्राविधिक चन्द्राकान्त तिमिल्सीनाले हेमजाको आलु स्वस्थकर हुने उल्लेख गरे।

आलु तरकारीको राजा भएको उनले भनाई राखे।

सदाझै यसपटक पनि महोत्सवमा “सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक” नारालाई अगाडि सारिएको छ।

महोत्सव मार्फत हेमजालाई कृषि क्षेत्रका रुपमा परिचित गराउने, हेमजाको कृषि उत्पादन तथा विकासमा टेवा पुर्‍याउने, कृषकलाई कृषि व्यवसायमा आकर्षित गराउँदै हेमजालाई कृषि राजधानीको रुपमा स्थापित गराउने लक्ष्य राखिएको छ।

त्यस्तै, आयोजकले क्लब भवन निर्माणका साथै तरकारी संकलन एवं बिक्री वितरण केन्द्र स्थापना गर्ने, बहुउद्देश्यीय भवन निर्माण सम्पन्न गर्ने उद्देश्य पनि लिएको छ।

हेमजाको कुल १३ हजार ५ सय हेक्टर क्षेत्रफलमध्ये ५ सय ९० हेक्टरमा आलु खेती गरिदै आएको छ।

यस खेतीमा त्यहाँका करिव २ हजार घरपरिवार आधारित रहेपनि १ हजार ५० कृषकले व्यवसायिक आलु खेती गर्दै आएका छन्।

जसको प्रति रोपनी औसत उत्पादन लागत रु.१८ हजार ५ सय ९७ पर्ने र औसत उत्पादन ७ सय ९ केजी हुने गरेको उल्लेख छ।