
२१ औं संस्करणको फेवा नव बर्ष महोत्सव २०८३ आइतबारबाट पोखरामा सुरु भएको छ।
आयोजक होटल संघ पोखरा नेपालले सांस्कृतिक झाँकी र बाजागाजासहित यो संस्करणको महोत्सव सुरु गरेको हो।
कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्थानीय अम्बोटमा आयोजित समारोहमा महोत्सवको उद्घाटन गरिन्।
यसअघि, लेकसाइडस्थित खहरेबाट सुरु भएको विभिन्न जातजातिको झाँकी र पंचैबाजासहितको लामो र्याली अम्बोट पुगेको थियो।
सहिदचोक र खहरेबीचको सडकमा ३ दिनसम्म चल्ने महोत्सव आगामी बैशाख १ गते राति सकिनेछ।
महोत्सव उद्घाटनका अवसरमा सातै प्रदेशका साँस्कृतिक नाचहरु प्रस्तुत गरिएको थियो।
तरेली सांस्कृतिक परिवारले स्वागत नृत्य प्रस्तुत गरेको थियो।
महोत्सवमा साँझ सांस्कृतिक प्रस्तुती र पंचैबाजाको रमाइलो रहने आयोजकले जनाएको छ।
पप कन्सर्टका कार्यक्रम पनि समेटिनेछन्।
सोमबार भने खहरेबाट दुलही लिन अम्बोट पुग्नेगरी पंचैबाजाको रमाइलो प्रतियोगिता राखिएको छ।
यसमा १५ पंचैबाजा समूहले भाग लिएको महोत्सव आयोजक होटल संघ पोखरा नेपालका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए।
लेकसाइडका सेन्टर प्वाइन्ट, गौरीघाट र अम्बोटका हरेक चौतारामा सांस्कृतिक कार्यक्रम र पंचैबाजा प्रतियोगिताका क्रममा खहरेमा रत्यौलीको कार्यक्रम पनि समावेश हुने उनले जानकारी दिए।
पर्यटक दौड प्रतियोगिता पनि महोत्सवमा समावेश हुनेछ।