दार्चुलाका मुकेश थापाले जिते खुलातर्फको रात्रिकालीन सडक दौड

दौडमा ५ देशका १ सय ४५ धावकहरुको सहभागिता

जनसम्मत
चैत्र २९, २०८२, आइतबार

दार्चुलाका मुकेश थापाले खुलातर्फको रात्रिकालीन सडक दौड (पोखरा नाइट स्ट्रिट रेस) जितेका छन्।

पोखराको लेकसाइडस्थित बाराहीघाटदेखि सुरु भएको दौडमा खुलातर्फ दार्चुलाका २९ बर्षीय मुकेश थापा प्रथम हुन सफल भए।

उनले निर्धारित दूरी १७:३१:६७ मिनेटमा पूरा गरे।

यसैगरी, सुवास गुरुङले १७:५४:२५ मिनेटमा पूरा गर्दै दोस्रो भए।

त्यस्तै, अकलबहादुर पालले १८:०२:०३ मिनेटमा उक्त दूरी पूरा गर्दै तेस्रो भए।

‘जाग्छ पोखरा, दौडाउँछ पोखरा’ उद्घोषका साथ शनिबार राति ७:२९ बजे दौड सुरु गरेको थियो।

महिलातर्फ, पुष्पा शर्मा लिम्बुले निर्धारित दूरी २३:०३:५४ मिनेटमा पूरा गर्दै विजेता बनिन्।

यु–१६ तर्फ राम ढुंगाना र विदेशीतर्फ फ्रान्सका स्याम्यूल प्रथम भए।

रामले २४:३९:६० मिनेट तथा स्याम्यूलले २२:०८:०७ मिनेटमा दौड पूरा गरेको प्रतियोगिताका रेस डाइरेक्टर ओम गुरुङले जानकारी दिए।

खुलातर्फ विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ नगदसहित पुरस्कार प्राप्त गरे।

त्यसैगरी, अन्य विधाका विजेताहरुले जनही ७/७ हजार रुपैयाँसहित प्रोत्साहन पुरस्कार हात पारे।

पर्यटनको राजधानी पोखरामा पहिलोपल्ट आयोजना भएको पोखरा रात्रिकालीन सडक दौड (पोखरा नाइट स्ट्रिट रेस) २०८३ मा नेपालसहित ५ देशका १ सय ४५ धावक सहभागी थिए।

फेवाताल किनार बाराहीघाटदेखि पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुलसम्मको ५ किलोमिटरको उक्त दौडमा नेपालसहित, नर्वे, फ्रान्स, थाइल्याण्ड र इंग्ल्याण्डका धावक सहभागी थिए।

बाराहीघाटदेखि शुरु भएको लेकसाइडको सेन्टर प्वाइन्ट, हल्लनचोक, जिरो किलोमिटर, सृजनाचोक, सभागृहचोक, न्युरोड, चिप्लेढुंगा हुँदै महेन्द्रपुलस्थित अन्तर्राष्ट्रिय झण्डापार्क (फल्चा) मा पुगेर समापन भएको थियो।

पोखरा प्रवर्द्धन केन्द्र र पोखरा क्लिकको आयोजनामा भएको खेलकुद र पर्यटन प्रवर्द्धनका लागि दौडको आयोजना गरिएको हो।