३० दिनभित्र सूचीकृत हुन सामाजिक सञ्जाल संचालकहरूलाई आग्रह

हालसम्म भाइबर मिडिया एसएआरएल, टिकटक पीटीई.एलटीडी र सारांश मिडिया ल्याब प्रा.लि. (विटक) मन्त्रालयमा सूचीकरण भएर संचालनमा छन्

जनसम्मत
चैत्र १३, २०८२, शुक्रबार

सरकारले सामाजिक सञ्जाल संचालन गरेका वा गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थालाई ३० दिनभित्र सूचीकृत हुन आग्रह गरेको छ।

संचार तथा सूचना प्रविधि मन्त्रालयले एक सूचना जारी गर्दै हाल संचालनमा रहेका यस्ता सामाजिक सञ्जाल ३० दिनभित्र दर्ता नभए नेपालभित्र संचालनमा रोक लगाउने जानकारी दिएको हो।

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को दफा ३ अनुसार सामाजिक सञ्जाल संचालन गरेका वा गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले संचार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरणका लागि आफैँ वा आफ्नो प्रतिनिधिमार्फत सोही निर्देशिकाअनुसारको फारम भरेर बुझाउन भनिएको छ ।

‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को दफा ३ अनुसार सामाजिक सञ्जाल सञ्चालन गरेका वा गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले संचार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरणका लागि आफैँ वा आफ्नो प्रतिनिधिमार्फत सोही निर्देशिकाको अनुसूची–१ बमोजिमको ढाँचामा तोकिएका कागजात संलग्न गरी निवेदन दिनुपर्ने व्यवस्था रहेको छ’, सूचनामा भनिएको छ, ‘साथै उल्लिखित व्यक्ति, कम्पनी वा संस्थाले नेपालभित्र सम्पर्क विन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियमन परिपालनको निगरानी गर्ने अधिकारीको व्यवस्था गर्नुपर्ने प्रावधानसमेत निर्देशिकामा रहेको छ।’

कानुनी व्यवस्थाअनुसार हालसम्म भाइबर मिडिया एसएआरएल, टिकटक पीटीई.एलटीडी र सारांश मिडिया ल्याब प्रा.लि. (विटक) मन्त्रालयमा सूचीकरण भएर संचालनमा रहेका छन्।

निर्देशिका बमोजिम ३० दिनभित्र यस मन्त्रालयमा सूचीकरण गर्न र नेपालभित्र सम्पर्क विन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियमन परिपालनको निगरानी गर्ने अधिकारीको समेत व्यवस्था गर्न मन्त्रालयले भनेको छ।

‘तोकिएको समयभित्र सूचीकरण हुन नआउने सामाजिक सञ्जाल प्लेटफर्मलाई निर्देशिकाको दफा ३ को उपदफा (७) बमोजिम मन्त्रालयले नेपालभित्र संचालनमा रोक लगाउन सक्ने व्यहोरा समेत जानकारी गराइन्छ’, सूचनामा भनिएको छ।

निर्देशिकाको दफा ३ को उपदफा (७) मा सूचीकृत नभएका सामाजिक सञ्जाल प्लेटफर्मलाई मन्त्रालयले नेपालभित्र संचालनमा रोक लगाउन सक्ने उल्लेख छ।

हेरौंं, सूचना