
विभागीय टोली त्रिभुवन आर्मी क्लबले पीएम कप क्रिकेटको उपाधि जितेको छ।
आर्मीले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गर्दै प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो।
वीरगञ्जस्थित नारायणी रंगशालामा शुक्रबार भएको फाइनल खेलमा आर्मीले उपाधि उचाल्यो।
योसँगै विभागीय आर्मी तेस्रो पटक प्रधानमन्त्री कपको उपाधि चुम्न सफल बनेको छ।
यसअघि, सन् २०१७ मा भएको पहिलो संस्करणमा पुलिससँग संयुक्त विजेता बनेको आर्मीले सन् २०२१ मा चौथो संस्करणको उपाधि जितेको थियो।
टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिम प्रदेशले ३९.४ ओभरमा सबै विकेट गुमाएर १६१ रनको सामान्य योगफल तयार पारेको थियो।
सुदूरपश्चिमका लागि अशोक धामीले सर्वाधिक ४३ रन बनाए।
किरण ठगुन्नाले ३५ रन थपे।
अन्य ब्याट्सम्यानले उल्लेख्य रन बनाउन सकेनन्।
आर्मीका बलर आकाश चन्द र शाहब आलमले समान ३/३ विकेट लिए।
१६२ रनको विजयी लक्ष्य पछ्याएको आर्मीले ३४.३ ओभरमा ५ विकेटको क्षतिमा १६४ रन बनाउँदै लक्ष्य पूरा गर्यो।
आर्मीको जितमा इमान शेखले ४६ रनसहित इनिङ खेले।
यस्तै, बसीर अहमदले ४५ रन थपे।
सुदूरपश्चिमका हेमन्त धामीले २ विकेट लिए।
अशोक धामीले १ विकेट लिए।
खेलमा आर्मीका बसीर अहमद ‘प्लेयर अफ द म्याच’ बने।
बसीरले ब्याटिङमा ४५ रन बनाउनुका साथै बलिङमा ७.१ ओभरमा २५ रन खर्चेर २ विकेट लिएका थिए।