केन्द्रीयस्तरको राष्ट्रपति कप रनिङ शिल्ड आजबाट

एथलेटिक्स, भलिबल, कराते, तेक्वान्दो, उसु र कबड्डी लगायतका ६ खेलमा प्रतिस्पर्धा हुनेछन्

जनसम्मत
असार २९, २०७६, आइतबार

पोखरा । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतबार (आज) देखि सुरु हुँदैछ ।

केन्द्रीयस्तरको प्रतियोगितामा एथलेटिक्स, भलिबल, कराते, तेक्वान्दो, उसु र कबड्डी लगायतका ६ खेलमा प्रतिस्पर्धा हुनेछन् ।

चार प्रदेश १, ४, ५ र ७ को सहभागिता रहने प्रतियोगिताको एथलेटिक्समा ८८ खेलाडीले २६ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । भलिबल र कबड्डीमा चारै प्रदेशबाट छात्रछात्राको टिमको प्रतिस्पर्धा रहनेछ । करातेमा ४८ खेलाडीले ८ स्पर्धामा सहभागिता जनाउने छन् । तेक्वान्दो र उसुमा समान ४८ खेलाडीले समान ६ स्वर्णका लागि भिड्दै छन् ।

एथलेटिक्स लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्र, उसु त्रिपुरेश्वरस्थित राखेप सेमी कभर्डहल, भलिबल त्रिपुरेश्वरस्थित राखेपको बहुउद्देश्यीय कभर्डहल, कराते र तेक्वान्दो सातदोबाटो तथा कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा खेल हुनेछन् ।

व्यक्तिगत स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः ५ हजार, ४ हजार र ३ हजार नगद पुरस्कार पाउने छन् । टिममा पहिलोदेखि तेश्रो हुने खेलाडीलाई क्रमशः २ हजार ५ सय, २ हजार र १ हजार ५ सय नगद पुरस्कार दिइनेछ । जुनियर राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीलाई १० हजार नगदबाट पुरस्कृत गरिनेछ । प्रतियोगिता मंगलबारसम्म चल्नेछ ।