
नेपालले युएईलाई टी-२० आई श्रृंखलाको दोस्रो खेलमा ८ विकेटले हराएको छ।
योसँगै नेपाल र युएईबीचको २ खेलको टी–२० श्रृंखला १–१ को बराबरीमा सकिएको छ।
मंगलबार भएको दोस्रो खेलमा कुशल भुर्तेल र सन्दीप लामिछानेको प्रदर्शन उत्कृष्ट रह्यो।
सन्दीप लामिछानेले ४ ओभरमा १ मेडनसहित मात्र ६ रन दिएर ३ विकेट लिए।
सन्दीपले २ खेलमा गरी ६ विकेट लिएका छन्।
यस्तै हेमन्त धामीले ४ ओभरमा २० रन दिएर २ विकेट लिए।
१२९ रन पछ्याएको नेपालले १५ ओभर ५ बलमा २ विकेट गुमाएर लक्ष पूरा गर्यो।
कुशल भुर्तेलले ५७ बलमा सर्वाधिक ८४ रन बनाए।
उनको यो अन्तर्राष्ट्रिय टी–२० मा १४ औँ अर्धशतक हो।
युएईका निलांश केशवानी र मुहम्मद अरफानले समान १/१ विकेट लिए।
यसअघि, नेपालले टस जितेर बलिङ गर्दा युएईले २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रन बनायो।
पहिलो खेलमा नेपाल पराजित भएको थियो।