
आइसीसी महिला टी-२० च्यालेन्ज ट्रफीमा नेपालले आयोजक रुवान्डालाई २ विकेटले हराउँदै लगातार दोस्रो जीत निकालेको छ।
रुवान्डाले दिएको ८९ रनको लक्ष्य नेपालले १९ ओभर ४ बलमा ८ विकेट गुमाएर पूरा गर्यो।
नेपालकी सम्झना खड्काले सर्वाधिक ४८ रन बनाइन्।
रुवान्डाकी जियोभानिस उवासेले ३ विकेट लिइन्।
यसअघि, रुवान्डा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको घरेलु टोलीले १९ ओभर ४ बलमा ८८ रन बनाउँदा सबै विकेट गुमायो।
रुवान्डाकी एलिस इक्वुजेले १७ रन बनाइन्।
नेपालकी रचनाकुमारी चौधरीले ३ विकेट लिइन्।
प्रतियोगितामा नेपालको यो तेस्रो खेल हो।
नेपाल पहिलो खेलमा अमेरिकासँग ४४ रनले पराजित भएको थियो।
त्यस्तै, दोस्रो खेलमा नेपालले इटालीलाई ५० रनले हराउँदै आइसीसी महिला टी-२० च्यालेन्ज ट्रफीमा पहिलो जीत निकालेको थियो।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले पहिलो पटक आयोजना गरेको प्रतियोगितामा आयोजक रुवान्डासहित नेपाल, अमेरिका, इटाली र भानुआतु सहभागी छन्।
सबै टोलीले एक-अर्कासँग २/२ पटक खेल्नेछन्।
अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ।
प्रतियोगिता यही वैशाख १८ गतेसम्म चल्नेछ।