
ओमानसँगको एकदिवसीय श्रृंखलाको पहिलो खेल मा नेपालको ‘ए’ टोली ७० रनले पराजित भएको छ।
ओमानले दिएको २८१ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ ले ४४ ओभर ४ बलमा २१० रन बनाउँदा सबै विकेट गुमायो।
नेपाल ‘ए’ का ईशान पाण्डेले सर्वाधिक ५२ रन बनाए।
कप्तान अनिलकुमार साहले ५० रन थपे।
ओमानका सकील अहमद र हसनैन अली शाहले समान ३/३ विकेट लिए।
यसअघि, काठमाण्डौको माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको ओमानले ५० ओभरमा ९ विकेट गुमाएर २८० रन बनायो।
ओमानका मुजिबुर अलीले सर्वाधिक ७२ रन बनाए।
जितेन्दर सिंहले ५८ रन जोडे।
नेपालका आकाश चन्दले ४ विकेट लिए।
नेपालको ‘ए’ टोली र ओमानबीचको एकदिवसीय श्रृंखलाको दोस्रो तथा अन्तिम खेल पर्सि (शुक्रवार) हुनेछ।
यसपछि, नेपालको ‘ए’ टोलीले स्कटल्यान्ड र अमेरिकासँग पनि २/२ वटा एकदिवसीय खेल खेल्नेछ।
यसैबीच, आउँदो शनिवारदेखि कीर्तिपुरको त्रिवि मैदानमा नेपाल, संयुक्त अरब इमिरेट्स (युएई) र ओमानबीचको आइसीसी क्रिकेट विश्वकप लिग–२ श्रृंखला सुरू हुँदैछ।