
पोखराको हेम्जामा वैशाख १९ गतेदेखि हुने सप्ताहव्यापी ज्ञान-विज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ।
मानवसेवा आश्रम कास्की शाखाद्वारा बुधबार पत्रकार सम्मेलनमार्फत हेम्जामा वैशाख १९ देखि २६ गतेसम्म हुने श्रीमद्भागवत सप्ताह ज्ञान-विज्ञान महायज्ञ-२०८३ को तयारी अन्तिम चरणमा पुगेको जनाएको हो।
आश्रमका केन्द्र प्रमुख रामजी अधिकारीले महायज्ञको तयारी अन्तिम चरणमा पुगेको जनाए।
उनले महायज्ञबाट संकलित रकमलाई आश्रमको भवन निर्माण सम्पन्न गर्ने र आश्रमद्वारा प्रदान गर्ने सेवालाई विस्तार गर्ने अभियानका रूपमा लिइएको बताए।
भवनसँगै लक्ष्मीनारायण मन्दिर र मुक्तिनाथ सेवा धर्मशाला निर्माण तथा अक्षयकोष वृद्धि पनि महायज्ञका मुख्य लक्ष्य रहेको अधिकारीले बताए।
मानवसेवा आश्रम कास्की शाखाको आयोजनामा ८ दिनसम्म संचालन हुने महायज्ञ अवधिमा धार्मिक प्रवचन, योग शिविर, नि:शुल्क स्वास्थ्य सेवा, युवालक्षित उत्प्रेरणात्मक कार्यक्रम तथा सांगीतिक प्रस्तुति गरिने कार्यक्रम छ।
आयोजककाअनुसार महायज्ञले धार्मिक तथा सामाजिक जागरणसँगै सेवा कार्यका लागि आवश्यक स्रोत जुटाउने अपेक्षा गरिएको छ।
हेम्जास्थित भवन निर्माणमा हालसम्म करिब ८ करोड रुपैयाँ खर्च भइसकेको छ।
भवन निर्माण कार्य सम्पन्न गर्न अझै थप २ करोड आवश्यक रहेको जनाइएको छ।
आश्रितको संख्या बढ्दै जाँदा सेवा विस्तारका लागि स्रोत व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएकाले महायज्ञलाई प्रमुख आधारका रूपमा अघि सारिएको आश्रमले बताएको छ।
महायज्ञ सफल बनाउन अनिलकुमार शाहीको संयोजकत्वमा १ हजार १ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ।
जसको सह-संयोजकमा धर्मराज बास्तोला र प्रचार–प्रसार संयोजकमा सुस्मा पौडेल छन्।
आश्रमले सर्वसाधारण, दाताहरू तथा सरोकारवालालाई महायज्ञमा सहभागी हुन र सहयोग गर्न आग्रहसमेत गरेको छ।