
पोखरा जेसीजले विभिन्न कार्यक्रमसहितको जेसीज सप्ताहन्त–२०२६ आयोजना गर्ने भएको छ।
पोखरा जेसीजले यही वैशाख १८ गतेदेखि २० गतेसम्म जेसीज सप्ताहन्त आयोजना गर्न लागेको बुधबार पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको हो।
जेसीज सप्ताहन्तको पहिलो दिन वैशाख १८ गते बिहान १० बजेदेखि ५ बजेसम्म पोखराको पस्र्याङस्थित ताज महल इभेन्ट सेन्टरमा उद्घाटन समारोह हुने कार्यक्रम छ।
सोही अवसरमा पोखरा महानगरपालिका–५ को सहकार्यमा युवाहरुका लागि ‘वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम’ संचालन हुने जेसीज पोखराका उपाध्यक्ष एवं सप्ताहन्तका मूल संयोजक जेसी ई. रविन्द्र गोदारले जानकारी दिए।
सप्ताहन्तको दोस्रो दिन वैशाख १९ गते शनिबार बिहान ८ बजेदेखि मादी गाउँपालिका–९ मिजुरेमा हिमालयन आँखा अस्पतालको प्राविधिक सहयोगमा वृहत नि:शुल्क आँखा शिविर संचालन गर्ने जेसीज पोखराले जानकारी दिएको छ।
सप्ताहन्तको अन्तिम दिन वैशाख २० गते आइतबार रक्तदान तथा विजनेस आइडिया पिचिङ कार्यक्रम संचालन हुने कार्यक्रम छ।