टी–२० क्रिकेट शृंखलामा मलेसियामाथि नेपालको शान्दार जित

क्वालालम्पुरस्थित किनरारा ओभलमा भएको खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो

जनसम्मत
असार २९, २०७६, आइतबार

पोखरा । दुई खेलको टी–२० शृंखलामा घरेलु मलेसियामाथि नेपालले पहिलो खेलमा शान्दार जित निकालेको छ । क्वालालम्पुरस्थित किनरारा ओभलमा भएको खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो ।

कप्तान पारस खड्काले विस्फोटक पारी खेलेपछि मलेसियाविरुद्धको ट्वेन्टी–२० क्रिकेटको शृंखलामा पहिलो खेलको जितसँगै नेपालले अग्रता लिएको छ । मलेसियाले दिएको १ सय २९ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान पारस एक्लैले ८६ रनको सानदार अविजित पारी खेल्न सफल रहे । मात्र ५० बलको सामना गरेका उनले ८ चौका र ५ छक्का प्रहार गरे ।

एउटा एण्डबाट उनले रन बनाइ रहँदा अर्को एण्डबाट विकेट झर्ने क्रम रोेकिएन । चौथो विकेटका लागि शरद भेषावकरसँग उनले ६१ रनको अविजित साझेदारी गरेका थिए । ६८ रनमा तेस्रो विकेटका रुपमा रोहितकुमार पौडेल ५ रनको स्कोरमा आउट भएपछि आएका भेषावकरले २० बलमा १ छक्कासहित अविजित १६ रन प्रहार गरे ।

टिमलाई जितका लागि ६ रन आवश्यक रहेको अवस्थामा शरदले छक्का प्रहार गरी नेपाललाई १८ दशमलव ३ ओभरमा जित दिलाए । अर्का ओपनर प्रदीप ऐरी ४ दशमलव ३ ओभरमा ८ रनको स्कोरमै आउट भएपछि पारसले पारी सम्हालेका थिए । तेस्रो नम्बरमा आएका उपकप्तान ज्ञानेन्द्र मल्ल १० औं ओभरको अन्तिम बलमा अनवर रहमानको बलबाट बोल्ड भए । उनले २० बलमा ७ रन मात्र जोडे ।

यसअघि, किनररा ओभल मैदानमा घरेलु टोली मलेसियाले टस जितेर पहिले ब्याटिङ गरेको थियो । निर्धारित ओभरमा उसले ९ विकेट गुमाएर १ सय २८ रनको योगफल खडा गरेको थियो । मलेसियाका दुई जना खेलाडीले उत्कृष्ट ब्याटिङ गरेपनि अन्यको प्रदर्शन खराब रह्यो ।

पहिलो ओभरको पाँचौं बलमा नै नेपालले पहिलो सफलता हात पारेको थियो । सोपमाल कामीले पहिलो ओभरको पाँचौं बलमा सइद अजिजलाई आउट गर्दै पहिलो सफलता दिलाएका थिए । साइदले रनको खाता नै खोल्न पाएनन् । त्यसपछि मलेसियाले आक्रामक रन बनाइरहेको

अवस्थामा सन्दीप लामिछानेले फित्री सहमलाई पेवेलियनको बाटो देखाए । सन्दीपले सातौं ओभरको पहिलो बलमा विकेट लिएका थिए । सहमले १२ रन मात्रै बनाए ।

१५ औं ओभरको दोस्रो बलमा भेटरान बलर बसन्त रेग्मीले क्रिजमा जमेका बलर विरानदिप सिंहलाई प्रदिप ऐरीबाट क्याचआउट गराए । विरानदिपले ४९ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ५७ रन बनाउन सफल रहे ।

त्यसपछि क्रिजमा आएका साफिक सरिफलाई पनि बसन्त रेग्मीले कट एण्ड बोल्ड गरे । सरिफले जम्मा २ रन बनाउन सके । १८ औं ओभरको चौथो बलमा नयाँ ब्याट्सम्यान अनिमुद्धिन राम रन–आउट हुन पुगे ।

क्रिजमा जमेका अर्का ब्याट्सम्यान अहमद फियाजलाई करण केसीले ललितनारायण राजवंशीबाट क्याचआउट गराएपछि मलेसियाले ठूलो योगफल तयार गर्न सकेन । विरानदिपले ५७ र फियाजले ४५ रनबाहेक अन्य ब्याटिङमा जम्न सकेनन् । मलेसियाका ५ जना खेलाडीले खाता नै खोल्न सकेनन् । बलिङमा करण केसीले ३ विकेट लिए भने सन्दिप लामिछाने र बसन्त रेग्मीले समान २ विकेट लिए ।