
पोखरामा फोटोहरुलाई प्रदर्शनीमा राखिएको छ।
फोटो पत्रकारिता दिवस-२०८३ को सन्दर्भमा फोटो पत्रकार संघ, कास्कीले आइतबार फोटोहरुलाई प्रदर्शनीमा राखेको हो।
नदिपुरस्थित कोर्टयार्डको प्राङ्गणमा फोटो प्रदर्शनी राखिएको हो।
कास्कीका फोटो पत्रकारहरुले कैद गरेका १०० फोटोहरु प्रदर्शनीमा राखिएको छ।
तीन दशकअघि नेपालमा २०६२ देखि ०७२ र ०८२ मा खिचिएका फोटोहरुलाई प्रदर्शनीमा राखिएको हो।
२०६२/०६३ को जनआन्दोल, २०७२ को भूकम्प र २०८२ मा भएको जेनजी आन्दोलनको फोटोहरुलाई प्रदर्शनीमा राखिएको छ।
पोखरा–३ का वडाध्यक्ष प्रकाशमान उदासले फोटो प्रदर्शनीको उद्घाटन गरेका हुन्।
उदासले कार्यक्रममा बोल्दै फोटो पत्रकारहरुको सिर्जनात्मक काममा वडाको सधैं साथ र सहयोग रहने प्रतिबद्धता जनाए।
उनले भने, ‘तस्बीर हेर्ने मात्र नभई, अनुभव गर्ने खालको हुनुपर्छ। फोटो केवल फ्रेम वा क्यानभासमा सजाउने चिज मात्र होइन, यो एउटा कला पनि हो। फोटो पत्रकारको एक क्लिकले इतिहास पनि बताउँछ। तस्बीरहरुले समाजलाई जानकारी मात्र होइन, महसुस पनि गराउँछ। तस्बीर हेर्दै गर्दा सपनाहरु पनि बुनिन्छ।’
पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले अक्षर पढेर भन्दा पनि तस्बीर हेरेर धेरै विषय बुझ्न सकिने औंल्याए।
‘फोटो पत्रकारहरुले जे देख्छ, त्यही क्लिक गर्छ। त्यहाँ, कुनै बनावटी हुँदैनन्। यस्तो खालको जनचेतनामूलक प्रदर्शनी अरु ठाउँमा पनि चलाउनुपर्छ’, उनले भने।
कार्यक्रममा नेपाल पत्रकार महासंघ, कास्की अध्यक्ष माधव बराल, नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष गंगाधर पराजुलीलगायतले बोलेका थिए।
कार्यक्रम संयोजक संस्थाकी सहसचिव दुर्गा रानामगरले फोटो पत्रकारिता दिवसका अवसरमा फोटोमार्फत जनआन्दोलन, भूकम्प र जेनजी आन्दोलनबारे जानकारी दिने उद्देश्यले प्रदर्शनी आयोजना गरिएकोे बताइन्।
वि.सं १९८४ वैशाख १३ गते गोरखापत्रमा प्रथमपटक फोटो समाचार छापिएको थियो।
त्यही दिनको स्मरण गर्दै नेपालका फोटो पत्रकारहरुले राष्ट्रिय फोटो पत्रकारिता दिवसका रुपमा मनाउँदै आएका छन्।
वीरगञ्जकी एक महिलाले चर्खाबाट धागो कात्दै गरेको फोटो पहिलो पटक गोरखापत्रमा प्रकाशित भएको थियो।
संस्थाका अध्यक्ष राम गुरुङले बिहान १० बजेदेखि सुरु फोटो प्रदर्शनी दिउँसो ४ बजेसम्म रहने जनाए।