
प्रेस स्वतन्त्रता हननका घटनाहरुमा बढोत्तरी आएको छ।
यो वर्ष, देशभर १ सय ३१ वटा प्रेस स्वतन्त्रताका घटनाहरु घटेका छन्।
यो, नेपाल पत्रकार महासंघ केन्द्रको संचार अनुगमन ईकाईले तयार पारेको रिपोर्ट हो।
अनुगमन ईकाई समितिले मे ४, २०२५ देखि ३० अप्रिल, २०२६ सम्म प्रेस स्वतन्त्रता हननसम्बन्धी घटनाहरुका आधारमा तयार पारेको विवरण हो।
यो विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३, २०२६ ) को पूर्वसन्ध्यामा नेपाल पत्रकार महासंघ केन्द्रले सार्वजनिक गरेको तथ्यांक हो ।
यो वर्ष, गत वर्षको तुलनामा ५८ ले बढि प्रेस स्वतन्त्रता हननका घटनाहरु घटेका छन्।
अघिल्लो वर्ष, प्रेस स्वतन्त्रता हननका ७३ वटा घटनाहरु घटेका छन्।
त्यो भन्दापनि अघिल्लो वर्ष जम्मा ६२ वटा प्रेस स्वतन्त्रताका घटनाहरु घटेको थियो।
यसरी, तुलनात्मक विश्लेषण गर्दा प्रेस स्वतन्त्रताका घटनाहरुमा प्रति वर्ष बढोत्तरी आएको छ।
बढ्दो प्रेस स्वतन्त्रता हननका घटनाप्रति नेपाल पत्रकार महासंघ केन्द्रले चिन्ता व्यक्त गरेको छ।
विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३, २०२६) को अवसरमा नेपाल पत्रकार महासंघ केन्द्रकी अध्यक्ष निर्मला शर्माले चिन्ता व्यक्त गरेकी हुन्।
शर्माद्वारा प्रकाशित पत्रमा उल्लेख छ, ‘इतिहासदेखि नै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि राज्यको कुनै अंग, तह वा अरु कुनै संगठित, असंगठित क्षेत्रबाट संकुचन वा नियन्त्रण गर्ने प्रयास भएमा हामीले सशक्त प्रतिवाद गर्दै आएका छौं। अबपनि, त्यस्तो प्रतिवाद गर्ने अवस्था आइलाग्छ भन्ने महासंघ स्पष्ट छ। लोकतान्त्रिक संविधान लागु भइसकेको दशक बितिसक्दा पनि मुलुकमा प्रेस स्वतन्त्रता हननका घटनाहरु बढ्दो क्रममा रहनु हाम्रा लागि गम्भीर चिन्ताको विषय हो।’
यो वर्षको प्रेस स्वतन्त्रता हननका १३१ घटनामध्ये पत्रकारमाथि दुव्र्यवहार तथा धम्कीका ५१ वटा घटनाहरु छन्।
त्यसैगरी, पत्रकार तथा संचार सामग्रीमाथिको आक्रमणका ३० घटनाहरु छन्।
पेशागत असुरक्षा १८ र अवरोधका २६ घटनाहरु छन्।
नीतिगत बन्देजका ३ घटना, पत्रकार पक्राउको २ घटना र १ जना पत्रकारको शंकास्पद १ घटना छन्।
भदौ २३ गते जेनजी आन्दोलनका क्रममा २६ वटा प्रेस स्वतन्त्रता हननका घटनाहरु हुँदा एकसय भन्दा बढि पत्रकार र संचारगृहरु प्रत्यक्ष प्रभावित बनेको थियो।
भदौ २३ गतेको आन्दोलन र २४ गतेको हिंशात्मक घटनामा संचारगृहमा आगजनी, तोडफोड र लुटपाट भएको थियो।
सो घटनामा संस्थागततर्फ करिब ६० करोड रुपैयाँ बराबरको क्षति भएको महासंघ अनुगमन ईकाई समितिले तयार पारेको विवरणमा उल्लेख छ।
त्यस्तै, पत्रकार तथा संचार उद्यमीको निजी सम्पत्तितर्फ करिब १८ करोड रुपैयाँ बराबरको क्षति भएको विवरणमा उल्लेख छ।
विवरणमा उल्लेख भएअनुसार जेनजी आन्दोलनका क्रममा ५ जना पत्रकार गोली लागेर घाइते भएका थिए।
सार्वजनिक सेवा प्रशारण नेपाल, रेडियो नेपाल, नेपाल टेलिभिजन, कान्तिपुर पब्लिकेशन, अन्नपूर्ण पोष्ट, थाहा खबर, बुटवलस्थित रेडियो जागरण, इलामस्थित नेपालवाणी एफएम, इलाम एक्सप्रेस, चितवनको विभिन्न संचारगृह, पत्रकार महासंघ सप्तरी जिल्ला शाखाको कार्यालयसहितका संचारगृहहरुमा आगजनी, तोडफोड र लुटपाट गरिएको थियो।
आज, मे महिनाको ३ तारिक अर्थात विश्व प्रेस स्वतन्त्रता दिवस।
हरेक वर्ष यो दिन विश्वभरका पत्रकार तथा संचारसम्बद्ध संघसंस्था र निकायहरुले प्रेस स्वतन्त्रता दिवस मनाउँदै आएका छन्।
यसका साथै, पत्रकार महासंघले यो वर्षको विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन आग्रह गरेको छ।
यो वर्षको विश्व प्रेस स्वतन्त्रता दिवसको नारा ‘शान्तिपूर्ण भविष्यको निर्माण: मानवअधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रता प्रवर्द्धन’ रहेको छ।
साथै, पत्रकार महासंघले लोकतन्त्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकार सुरक्षाको क्षेत्रमा कृयाशील पेशागत संघ संगठनको सहभागितामा आइतबार माइतीघर मण्डलाबाट र्याली निकालेर विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँदैछ।
युनेस्कोले पनि जाम्बियाको लुकासमा मे ४ र ५ तारिकमा विविध कार्यक्रम गरी यस वर्षको विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँदैछ।
अन्तराष्ट्रिय पत्रकार महासंघ (आइएफजे) पनि मे ४ देखि ७ तारिकसम्म पेरिसमा हुने महाधिवेशनमा विश्वभरका पत्रकारलाई सहभागी गराएर यो दिवस मनाउँदैछ।
सन् १९९१ देखि विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै आएको हो।
सोही समयमा नामिबियाको विन्डहोकमा सम्पन्न सेमिनारबाट यो दिवस मनाउने घोषणा–पत्र जारी गरेको थियो।
सोही घोषणापत्रको स्मरण गर्दै सन १९९३ मा संयुक्त राष्ट्रसंघको महासभाले युनेस्कोको सिफारिसमा हरेक वर्षको मे ३ तारिकलाई विश्व प्रेस स्वतन्त्रताको दिवस मनाउने निर्णय गरेको हो।
त्यस यता, हरेक वर्षको मे ३ तारिकका दिन विश्व प्रेस स्वतन्त्रताको रक्षा र प्रवर्द्धन गर्ने उद्देश्यले विश्वभर यो दिवस मनाइँदै आएको छ।
पछिल्लो समयमा सरकारले गरेको सरकारी विज्ञापनमा विभेदकारी व्यवहार, लोककल्याणकारी विज्ञापनको संकुचन र अभिव्यक्ति स्वतन्त्रतामाथिकै अंकुशका प्रक्रिया हुन् भन्ने ठहर गर्दै नेपाल पत्रकार महासंघ आन्दोलनमा छ।

