
विभागीय त्रिभुवन आर्मी क्लबले पोखरामा जारी महिला गोल्डकप फुटवल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ।
आरएस पोखरा फुटबल क्लबको आयोजनामा जारी गोल्डकपअन्तरगत शनिबार संकटा क्लबलाई ४–२ गोलअन्तरले हराउँदै आर्मी फाइनलमा पुगेको हो।
पोखरा रंगशालास्थित फुटबल मैदानमा पहिलो हाफमा १–० को अग्रता कायम गरेको आर्मीले दोस्रो हाफमा ३ गोल थप्यो।
आर्मीको जीतमा चन्द्रा भण्डारीले २ तथा दिपा शाही र हिमा चौधरीले १/१ गोल गरे।
संकटाको तर्फबाट भने २ विदेशी खेलाडी क्वीनबेल ए अमनाराह र लिसिया एल जे मोकाम्बिकले गोल गोल गरे।
अत्यन्त प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफको निर्धारित समय सकिएपछि थप गरिएको १ मिनेटमै आर्मीका लागि दिपाले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाइन्।
तुलसा बोहोराको क्रसमा दिपाले सहजै गोल गरिन्।
दोस्रो हाफको सुरुवातमै आर्मीले अग्रता दोब्बर बनायो।
४७ औं मिनेटमा संकटाकी गोलरक्षक सुशिला चौधरीले डिफेन्स लाइनबाट आएको बललाई लङसट खेल्न खोज्दा आर्मीकी चन्द्राले गोल गरिन्।
चन्द्राले ५५ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता तेब्बर पारिन्।
३-० ले पछि परेको संकटाका लागि ७० औं मिनेटमा क्वीनवेल अमानक्राहले उत्कृष्ट गोल गर्दै टोलीलाई खेलमा फर्काउने आशा जगाइन्।
लगत्तै ७२ औं मिनेटमा संकटाले फ्री–किकमार्फत गोल गर्दै खेल ३–२ को स्थितिमा पुर्यायो।
लिसिया मोकाम्बिकले प्रहार गरेको फ्री–किकमा आर्मीकी गोलरक्षक कोपिला खड्काले समात्ने प्रयास गर्दा बलले जाली चुम्यो।
निर्धारित ९० मिनेट सकिएपछि थप गरिएको ८ मिनेटमा आर्मीकी हिमा चौधरीले गोल गर्दै दोब्बर अग्रतासहित टोललिाई निर्णायक जीत दिलाइन्।
जीतसँगै आर्मीले फाइनलमा नेपाल पुलिसको सामना गर्नेछ।
नेपाल पुलिस क्लबले यस अघि आयोजक आरएस पोखरा फुटबल क्लबलाई ८–० गोलले हराउँदै फाइनलमा प्रवेश गरिसकेको छ।
प्रतियोगिताको फाइनल खेल भोलि (आइतबार) दिउँसो २ बजे हुनेछ।
प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ नगदसहित गोल्डकप पुरस्कार जित्नेछ।
उपविजेताले ३ लाख रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछ।
आयोजक आरसी एफसीले गण्डकी प्रदेशकै इतिहासमा पहिलो पटक पोखरामा महिला गोल्डकपको आयोजना गरेको हो।
प्रतियोगितामा कुल ४ टिमले प्रतिस्पर्धा गरेको थियो।