
फ्रान्सको पेरिसमा तीन सय भन्दा बढि पत्रकारहरु भेला भएका छन्।
आइएफजे अर्थात् इन्टरनेसनल फेडरेसन अफ जर्नालिस्ट (अन्तराष्ट्रिय पत्रकार महासंघ) मा उल्लेखित संख्यामा पत्रकारहरु भेला भएका हुन्।
मे ४, २०२६ देखि मे ७ तारिकसम्म चलेको अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे) को सयौं वार्षिकोत्सवको सम्मेलनमा नेपालसमेतले उपस्थिति जनाएको छ।
नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माको नेतृत्वमा सहभागी प्रतिनिधि मण्डलले दक्षिण एसियाका पत्रकारहरुले भोग्नुपरेको चुनौतीहरु विश्वमञ्चमा उठानसमेत गर्यो।
नेपाल पत्रकार महासंघको तर्फबाट पेस गरेको विशेष प्रस्तावसमेतलाई आईएफजेको यो विश्व सम्मेलनले पास गरेको छ।
यो प्रस्तावमा पछिल्लो समय नेपालमा प्रेस स्वतन्त्रता हननका घटना बढेकोमा चिन्ता ब्यक्त गरिएको छ।
सरकारले गएको महिना जारी गरेको विज्ञापनसम्वन्धी सरकारी एकाधिकारको विरोध गर्दै यसले स्वतन्त्र अभिव्यक्तिमाथि अंकुश लगाएकोले यसलाई फिर्ता गरी स्वतन्त्र प्रेसलाई सम्मान गर्न जोडदार माग गरेको छ।
यसले, संचारमा आर्थिक संकट, पत्रकारको रोजीरोटी खोसिएको, सूचनाको हकलाई कुण्ठित गरेको र अभिव्यक्ति स्वतन्त्रताको हनन भएकोले यो संविधान र वर्तमान कानूनको खिलापमा भएको ठहर गरेको छ।
प्रस्तावमा अन्तराष्ट्रिय सन्धी, सम्झौताको पनि सम्मान गर्न माग गरेको छ।
त्यस्तै, सविधान शंसोधनको छलफल भइरहेको अवस्थामा कुनैपनि बहानामा प्रेस तथा अभिव्यक्ति स्वतंत्रताको कटौती गर्ने काम नहोस भनेर खबरदारी पनि गरेको छ।
आईएफजेको यो सम्मेलनले नेपाल लगायतका ७ वटा जरुरी महत्वकांक्षी प्रस्तावसमेत पास गरेको नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले आफ्नो फेसबुकमा जनाएकी छन्।
अध्यक्ष शर्माले सम्मेलनमा भौतिक मात्र नभई आर्थिक सुरक्षा पनि प्रेस स्वतन्त्रताको मुख्य बाधक बनेको बताइन्।
शर्माले भनिन्, ‘जबसम्म पत्रकारको हातमा उचित पारिश्रमिक र सामाजिक सुरक्षा हुँदैन, तबसम्म निर्भिक पत्रकारिता सम्भव छैन।’
यो मुद्दालाई महासंघको नयाँ कार्ययोजना ‘न्यूनतम पारिश्रमिक र श्रम अधिकार’ मा पनि समेटिएको छ।
त्यसैगरी, महासचिव रामप्रसाद दाहालले नेपालमा बढ्दो डिजिटल निगरानी र प्रेस स्वतन्त्रता संकुचित गर्नेगरी ल्याइएका कानुनबारे विश्वलाई जानकारी गराए।
साना संचारमाध्यमहरुले भोगेको मार, विज्ञापन बजारमा ठूला मिडियाको एकाधिकारलगायतको विषयमा नेपालले विशेष प्रस्ताव पेस गरेको थियो।
नेपाली टोलीले सम्मेलनमा नवनिर्वाचित अध्यक्ष जुलियाना लेइनेज ओटेरोसँग भेटवार्ता समेत गरेको छ।
नेपालको पत्रकारहरुको क्षमता अभिवृद्धि र डिजिटल सुरक्षाका लागि नेपाली टोलीले आग्रह गरेकोमा ओटेराले नेपालसँगको सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएकी छन्।
नेपाली पत्रकारितामा महिला नेतृत्वको उदय हुनु विश्वकै लागि प्रेरणादायी विषय भएको उनको भनाई छ।
अध्यक्ष: जुलियाना लेइनेज ओटेरो (पेरु)
प्रथम उपाध्यक्ष: नासेर अबु बकर (प्यालेस्टाइन)
कोषाध्यक्ष: टिम डसन (बेलायत)
कार्यकारी परिषद् सदस्यहरु: लौरा डेभिसन (बेलायत) उनीबाहेक अफ्रिका, एसिया–प्रशान्त, युरोप र अरब क्षेत्रबाट प्रतिनिधित्व गर्नेगरी जम्मा २१ सदस्यीय कार्यकारी परिषद् चयन गरिएको छ।