टी–२० शृंखलामा मलेसियामाथि नेपालको क्लिन स्वीप

आइतबार दोस्रो खेलमा मलेसियालाई ६ रनले पराजित गर्दै नेपालले २–० ले शंखला क्लिन स्वीप गरेको हो, पहिलो खेलमा शनिबार नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको थियो

जनसम्मत
असार २९, २०७६, आइतबार

पोखरा । नेपालले मलेसियासँगको दुई अन्तराष्ट्रिय टी–२० शृंखलामा ऐतिहासिक क्लिन स्वीप गरेको छ ।

आइतबार दोस्रो खेलमा मलेसियालाई ६ रनले पराजित गर्दै नेपालले २–० ले शंखला क्लिन स्वीप गरेको हो । पहिलो खेलमा शनिबार नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको थियो ।

आइतबार, १ सय ७४ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली मलेसिया २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६७ रन बनाउन सक्यो । अन्तिम ओभरमा जितका लागि १४ रन चाहिएको अवस्थामा अभिनाश बोहोराले उत्कृष्ट बलिङ गर्दै ७ रनमात्र खर्चिए । मलेसियाका लागि ओपनर सैद अजिजले ३७ बलमा ७ चौका र १ छक्का सहित ५० रनको योगदान दिए । ११ औं ओभरको पहिलो खेलमा सोमपाल कामीले अजिजलाई ललितनारायण राजवंशीबाट क्याच गराए ।

अजिजले पहिलो विकेटका लागि अर्का ओपनर विरनदीप सिंहसँग ९ दशमलव ५ ओभरमा ७५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । यी दुईबीचको साझेदारी अभिनाष बोहोराले कट विहाइन्ड निकाल्दै विकेट कीपर विनोेद भण्डारीबाट २३ बलमा २ चौका र १ छक्कासहित २३ रनमा आउट भए ।

मलेसियाको मध्यक्रमका ब्याट्सम्यानको प्रदर्शन भने खराब रह्यो । कप्तान अहमद फैज १७, शफिक शरिफ १०, अनवार अरुद्दीन ७ रनमा क्याच आउट गराए । तल्लोक्रममा अमिनुद्दीनले ११ बलमा ३ छक्का प्रहार गर्दै २४ रनमा क्याच आउट भए । मुहमद सहादत २१ रनमा अविजित रहे ।

नेपालका लागि सोमपाल कामीले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । त्यस्तै, सन्दीप लामिछानेले ४ ओभरमा ३८ रन खर्चेर २ विकेट हात पारे । अभिनाष बोहोरा, करण केसी, र कप्तान पारस खड्काको नाममा समान १ विकेट रह्यो ।

विकेट कीपर विनोद भण्डारीले विष्फोटक ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेपछि नेपालले मलेसियालाई दोस्रो अन्तराष्ट्रिय टी–२० खेलमा १ सय ७४ रनको कीर्तिमानी लक्ष्य दिएको थियो ।

टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको १ सय ७३ क्षतिमा रन बनायो । टी–२० आईमा नेपालले बनाएको यो हालसम्मकै उच्च स्कोर हो । यसअघि, सन् २०१४ को टी–२० विश्वकप क्रिकेटमा हङकङविरुद्ध बनाएको १ सय ४९ रननै नेपालको टी–२० आइमा उच्च स्कोर रहँदै आएको थियो । नेपाललाई कीर्तिमानी योगफलसम्म पु¥याउन विनोद भण्डारीले २५ बलमा ३ चौका र ५ छक्कासहित ५१ रनमा अविजित रहे । उनले इनिङको अन्तिम बलमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए ।

अनुभवी ब्याट्सम्यान शरद भेषवाकरले ४० रनको महत्वपूर्ण योगदान दिए । १६ औं ओभरको पहिलो बलमा छक्का, दोस्रोमा चौका र तेस्रो बलमा ठूलो सट खेल्ने धुनमा शरद अमिनुदीन रामिल्यबाट क्याच आउट हुनुअघि शरद भेषवाकरले २८ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।
नेपालले पहिलो विकेटका रुपमा ओपनर पवन सरार्फलाई १० रनमा गुमाएको थियो । सैद अजिजको पाँचौ ओभरको पाँचौ बलमा फिल्डिरले क्याच छाडेपनि पारससँग रनमा तालमेल गर्न नसक्दा पवन रन आउट हुन पुगे ।

फ्रिती सामको छैटौं ओभरको दोस्रो बलमा उपकप्तान ज्ञानेन्द्र मल्ल खराब सर्ट खेल्दै ७ रनमा क्याच आउट हुन पुगे । लगत्तै अर्को बलमा कप्तान पारस खड्का पनि ठूलो सर्ट खेल्ने धुनमा विरनदीप सिंहबाट २३ रनमा क्याच आउट भए । पारसले १९ बलमा समान समान २ चौका र छक्का प्रहार गरे ।

चौथो विकेटका लागि रोहितकुमार पौडेल र ब्याट्सम्यान शरद भेषवाकरले ४६ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । सैद अजिजको १३ औं ओभरको पाँचौ बलमा रोहित सामबाट १९ रनमा क्याच आउट भए । रोहितले २३ बलमा १ चौका प्रहार गरे । त्यस्तै, करण केसीले ब्याटिङ गर्दै १० बलमा समान १ चौका र छक्का सहित १६ रनमा क्याच आउट भए । मलेसियाका लागि फ्रिती सामले ३ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । सैद अजिज र सर्विन मुनियनले समान १ विकेट लिए ।

मलेसियाबाटै टोली सिङ्गापुरतर्फ

टी–२० शृंखला सकिएलगत्तै मलेसियाबाट नेपाली टोली सिङ्गापुर जानेछ । प्रतियोगितामा नेपालसहित आयोजक सिङ्गापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । नेपालले आफ्नो पहिलो खेल आगामी साउन ७ गते कतारसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ ।

त्यस्तै, साउन ८ गते मलेसिया, ११ गते कुवेत र १२ गते सिङ्गापुरसँग खेल्नेछ । शीर्ष स्थान हासिल गर्ने टोलीले विश्वकपको ग्लोबल छनोटमा सहभागिता जनाउन पाउनेछन् । ग्लोबल छनोट अक्टोबर ११ देखि नोभेम्बर ३ तारिखसम्म संयुक्त अरब इमिरेट्स (युएई) मा हुँदैछ ।

नेपाली टोलीमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, शरद भेषवाकर, ललितनारायण राजवंशी, अविनाश बोहरा, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, पवन सर्राफ र सोमपाल कामी छन् । वैकल्पिकतर्फ सुशन भारी, कुशल भुर्तेल, आरिफ शेख र जितेन्द्र मुखिया छन् ।