
पोखरामा दोस्रो संस्करणको गण्डकी लोकतारा प्रतियोगिता-२०८३’ हुने भएको छ।
गण्डकी प्रदेशका लोकदोहोरी प्रतिभालाई एउटै मञ्चमा उतार्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिले शनिबार पोखरामा बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर जनाएको हो।
पोखरा उद्योग वाणिज्य संघको सभाहलमा हुने प्रतियोगितामा गण्डकी प्रदेशका ११ जिल्लाबाट छनोट भएका प्रतिस्पर्धी सहभागी हुने प्रतिष्ठानले जनाएको छ।
लोकसंस्कृति, मौलिकता र लोकभाकाको संरक्षणसँगै नयाँ प्रतिभा उत्पादन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाई छ।
सोरठी, झ्याउरे, कौडा, भजन, पञ्चेबाजा लगायतका मौलिक भाका र शैलीलाई जगेर्ना गर्न लोकतारा आयोजना गरिएको प्रतिष्ठानका गण्डकी अध्यक्ष माया गुरुङले जानकारी दिइन्।
प्रतियोगिताको ग्राण्ड फिनालेमा कास्कीका समिर पुन, पर्वतका शोभा परियार, बागलुङकी ललिता घर्तीमगर, स्याङ्जाका शक्ति छिनाल, तनहुँकी मन्दिरा थापामगर, गोरखाका निर्मल गुरुङ, लमजुङका योगेश परियार, स्याङ्जाकी बत्तीकुमारी थापा, नवलपुरका गणेश वि.क., मुस्ताङकी सविता छिनाल र मनाङकी ममता तामाङ प्रतिस्पर्धामा उत्रिनेछन्।
प्रतियोगिताको विजेताले नगद ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी पुरस्कार पाउनेछन्।
यस्तै, दोस्रो हुनेले ३३ हजार ३ सय ३३ रुपैयाँ र तेस्रो हुनेले २२ हजार २ सय २२ रुपैयाँसहित पुरस्कार पाउनेछन्।
सान्त्वना स्थान हासिल गर्ने प्रतिस्पर्धीले ११ हजार १ सय ११ रुपैयाँ पाउनेछन्।