थाइल्यान्ड ओपन करातेमा नेपाललाई १ रजत १ कास्य पदक

कराते टोलीका सदस्य मन्देकाजी श्रेष्ठले एकल काता र महिला टोलीले कास्य पदक जितेको हो

जनसम्मत
असार २९, २०७६, आइतबार

पोखरा । थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा नेपालले १ रजत र १ कास्य पदक जितेको छ ।

स्वेदशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुदको विशेष प्रशिक्षणमा रहेको कराते टोलीका सदस्य मन्देकाजी श्रेष्ठले एकल काता र महिला टोलीले कास्य पदक जितेको हो ।

आठौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेता मन्देले फाइनलमा थोरै अंकले स्वर्ण पदक जित्नबाट बञ्चित रहे । स्वर्ण पदक विजेता इन्डोनेसियाका खेलाडीले २० दशमलव ३६ स्कोर गरे भने मन्देले २० दशमलव २० स्कोर गरेका थिए । त्यसअघि, पहिलो, दोस्रो र तेस्रो चरणमा भने मन्दे शीर्षस्थानमा रहन सफल भएका थिए ।

निर्मला तामाङ, कोपिला विष्ट र सरु कार्की सम्मिलित महिला टोलीले टिम कातामा कास्य पदक जितेको छ । नेपालले २२ दशमलव ८८ अंकका साथ कास्य पदक पक्का जितेको हो । नेपालसँगै ब्रुनाईले पनि कास्य पदक जितेको टिम कातामा चीनले स्वर्ण तथा म्यानमारले रजत पदक जितेको थियो ।