काभा महिला भलिबल: दोस्रो खेलमा नेपालले किर्गिस्तानलाई हरायो

यसअघि, काजकिस्तानले श्रीलंकालाई ३–० र दोश्रो खेलमा भारतले माल्दिभ्सलाई पनि ३–० को सोझो सेटमा हरायो

जनसम्मत
जेठ ९, २०८३, शनिबार

काभा महिला भलिबल च्याम्पियनसीपमा नेपालले आफ्नो दोस्रो खेलबाट विजयी सुरूआत गरेको छ।

काठमाण्डौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज (शनिबार) भएको आफ्नो दोश्रो खेलमा नेपालले किर्गिस्तानलाई ३-० को सोझो सेटमा हरायो।

नेपालले पहिलो सेट २५-१८, दोश्रो सेट २५-२० र तेश्रो सेट २५-१३ जीत निकाल्यो।

यो जीतसँगै नेपालले २ खेलबाट ४ अंकसहित समूह ‘ए’को दोस्रो स्थानमा उक्लियो।

यो जीतसँगै नेपालले सेमिफाइनल पुग्ने संभावना बलियो बनाएको छ।

हिँजो (शुक्रबार) भएको आफ्नो पहिलो खेलमा भारतसँग ३-२ ले पराजित हुँदा नेपालले १ अंक मात्र जोडेको थियो।

कीर्गिस्तानको भने यो पहिलो हार हो।

कीर्गिस्तानको २ खेलबाट ३ अंक बटुलेको छ।

अब, नेपालले समूह चरणको अन्तिम खेलमा भोलि माल्दिभ्ससँग खेल्नेछ।

नेपालले माल्दिभ्सलाई हराएमा सेमिफाइनल पुग्नेछ।

कीर्गिस्तानले भने पर्सि सोमवार भारतसँग खेल्नेछ।

यस्तै, आजै भएको पहिलो खेलमा काजकिस्तानले श्रीलंकालाई ३–० र दोश्रो खेलमा भारतले माल्दिभ्सलाई पनि ३–० को सोझो सेटमा हराएको छ।

प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भारत, किर्गिस्तान र मालदिभ्स छन्।

समूह ‘बी’ मा इरान, काजकिस्तान, श्रीलंका र बंगलादेश छन्।