साफ महिला च्याम्पियनसीप: श्रीलंकालाई हराउँदै नेपाल सेमिफाइनलमा

नेपालले बंगलादेशसँग सेमीफाइनल खेल्नेछ

जनसम्मत
जेठ १७, २०८३, आइतबार

नेपाल साफ महिला च्याम्पियनसीप फुटबलमा श्रीलंकालाई हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको छ।

भारतको गोवास्थित जवाहरलाल नेहरु रंगशालामा आज (आइतबार) भएको समूह ‘ए’ को अन्तिम खेलमा नेपालले श्रीलंकालाई २-० गोलले हरायो।

नेपालको जीतमा रश्मीकुमारी घिसिङ र कप्तान रेनुका नगरकोटीले गोल गरे।

यो जीतसँगै नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल पुगेको हो।

नेपालले समूह चरणको पहिलो खेलमा भूटानलाई १-० गोलले हराएको थियो।

यस्तै, यो समूहबाट भूटान उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ।

भूटानले श्रीलंकालाई ४-० गोलले हराएको थियो।

प्रतियोगितामा आजै राति पौने ८ बजे भारत र बंगलादेश खेल्दैछन्।

यो समूहबाट भारत र बंगलादेशले माल्दिभ्सलाई हराउँदै सेमिफाइनलमा पुगिसकेका छन्।

यो समूहबाट विजेता र उपविजेता निर्धारण गर्न खेल हुँदैछ।

आठौँ संस्करणको साफ महिला च्याम्पियनसीपको फाइनल खेल यही जेठ २३ गते हुनेछ।

भारतले सबैभन्दा धेरै ५ पटक साफ महिला च्याम्पियनसीपको उपाधि जितेको छ।

त्यस्तै, बंगलादेशले पछिल्लो २ संस्करणको च्याम्पियनसीप उपाधि जिेतेको थियो।

नेपाल भने अहिलेसम्म ६ पटक फाइनलमा पुगेपनि अझै उपाधिविहीन छ।