
नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा आइतबारदेखि अनुसन्धानमूलक लेख लेखन तालिम सुरु भएको छ।
पत्रकार महासंघ कास्कीको आयोजनामा सुरु तालिम जेठ २७ गतेसम्म संचालन हुनेछ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले तालिमको उद्घाटन गरेका हुन्।
मेयर आचार्यले उद्घाटनपछि बोल्दै पत्रकारिता क्षेत्रलाई अझ बढी जिम्मेवार र अद्यावधिक बनाउनुपर्ने कुरामा जोड दिए।
उनले नेपालमा डिग्री हासिल गरेपछि वा परीक्षा सकिएपछि सिक्ने प्रक्रिया सकियो भन्ने गलत धारणा रहेको भन्दै यसलाई चिर्नुपर्ने धारणा राखे।
विशेषगरी, पत्रकारिता जस्तो संवेदनशील र गतिशील क्षेत्रमा आबद्ध व्यक्तिहरूका लागि हरेक मिनेट र सेकेन्ड महत्वपूर्ण हुने उनले उल्लेख गरे।
सूचना र प्रविधिको विकाससँगै विश्वका कुनै पनि कुनाका घटना र सूचनाहरूबाट पत्रकारहरू प्रतिपल अपडेट रहनुपर्ने चुनौती रहेको उनले औंल्याए।
अरुलाई मार्गनिर्देशन गर्ने क्षेत्र भएकाले पत्रकारहरूले आफूलाई सधैं तयार राख्नुपर्ने उनको तर्क थियो।
उनले पोखरा महानगरपालिका पत्रकारहरुको साथमा रहेको र व्यावसायिक विकासका लागि सहयोग गर्न सदैव तयार रहेको प्रतिबद्धता समेत जनाए।
कार्यक्रममा महासंघ कास्कीका अध्यक्ष माधव बरालले पत्रकारिता क्षेत्रलाई थप व्यावसायिक र परिष्कृत बनाउन यो तालिम महत्वपूर्ण हुने बताए।
पछिल्लो वर्षमा महासंघले विभिन्न तालिमहरु संचालन गरेपनि यो पटकको कार्यक्रम नितान्त फरक र विशेष रहेको उनको भनाई थियो।
महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मीले पछिल्लो समय पठन संस्कृतिमा आएको ह्रास र समाचारहरूको प्रभावकारितामा देखिएको चुनौतीलाई चिर्न यो अवधारणा ल्याइएको उल्लेख गरे।
नेपाल पत्रकार महासंघ पत्रकारहरुको हकहितका साथै क्षमता अभिवृद्धिमा सधैं क्रियाशील रहेको बताउँदै सोही क्रममा विभिन्न तालिम संचालन गरिरहेको रेग्मीले सुनाए।
डा. कुन्दन अर्याल, डा. श्रीराम पौडेल र डा. कपिल अधिकारीले प्रशिक्षण दिनेछन्।
पोखरामा कृयाशील ६० जना पत्रकारहरुको तालिममा सहभागिता छ।