
पोखरामा खेलकुद पत्रकारका लागि शुक्रबारदेखि एआई तालिम सुरु भएको छ।
नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीको आयोजनामा ‘डिजिटल युगको पत्रकारिता खेलकुद पत्रकारितामा एआई’ तालिम सुरु गरिएको हो।
प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेशको सहयोगमा भएको तालिम शनिबार सकिनेछ।
तालिमको गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारीले उद्घाटन गरेकी हुन्।
तालिम उद्घाटनपछि प्रेस रजिष्ट्रार भण्डारीले प्रविधिको विकाससँगै पत्रकारिताको परम्परागत शैलीलाई बदल्नुपर्ने औंल्याइन्।
प्रविधिले विश्वलाई एउटा सानो गाउँ (ग्लोबल भिलेज) मा परिणत गरिसकेको उनको तर्क थियो।
उनले पत्रकारितामा एआईको प्रयोगले कार्यक्षमता वृद्धि गर्ने धारणा राखिन्।
उनले भनिन्, ‘पत्रकारितामा एआई हाम्रो विकल्प खोज्न आएको होइन, तपाईंको क्षमतालाई दशौँ गुणा गुणात्मक बनाउनका लागि आएको हो। यसलाई हामीले सकारात्मक रूपमा लिनुपर्छ। तथ्य जाँच, ‘फ्याक्ट चेकमा शुद्धता ल्याउन र नेपाली संचार सामग्रीलाई विश्वव्यापी पहुँचमा पुर्याउन एआईले महत्वपूर्ण भूमिका खेल्छ। पत्रकारितामा तथ्यांक र एल्गोरिदमको युग सुरु भइसकेकाले अब पुरानै ढर्रामा रमाएर बस्न हुँदैन।’
प्रेस रजिस्ट्रार भण्डारीले पत्रकारिता क्षेत्रमा देखिएको अल्छीपन र ‘काम गरिदिनुस् न’ भन्ने जस्ता परनिर्भरतालाई त्यागेर सक्रियता बढाउनुपर्नेमा जोड दिइन्।
गण्डकी प्रदेश सरकारले आमसंचार क्षेत्रको विकासका लागि बजेट विनियोजन गरिसकेको जानकारीसमेत दिइन्।
उनले आगामी दिनमा पोडकास्ट, मल्टिमिडिया र डाटा पत्रकारिताका लागि करिब ८ हप्ताका विशेष कोर्षहरू संचालन गर्ने तयारी भइरहेको समेत उल्लेख गरिन्।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मी, पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारलागतयले तालिमले गण्डकी प्रदेशको खेल पत्रकारितालाई नयाँ उचाईमा पुर्याउने र समाचारको गुणस्तरमा यसको प्रभाव देखिने बताए।
नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीका अध्यक्ष एमबी आस्थामगरको अध्यक्षतामा भएको कार्यक्रम महासचिव पर्शुराम शर्माले संचालन गरेका थिए।
तालिममा सहभागीहरुलाई उपाध्यक्ष राजाराम पौडेलले स्वागत गरे।
दुई दिनसम्म संचालन हुने तालिममा पत्रकारहरुको उल्लेख्य सहभागिता छ।
उनीहरुलाई पत्रकार अजय शर्मा र सहारा क्लब पोखराका पूर्वअध्यक्ष विक्रम थकालीले प्रशिक्षण दिनेछन्।