राष्ट्रपति रनिङ शिल्डमा गण्डकीका युकेशलाई स्वर्ण

आइतबार भएको पुरुष ४५ केजीमुनि फाइनलमा युकेशले गण्डकीका पन्नु लोधलाई पराजित गर्दै स्वर्ण जितेका हुन्

जनसम्मत
असार २९, २०७६, आइतबार

पोखरा । गण्डकी प्रदेशका युकेश थापाले ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तेक्वान्दोमा स्वर्ण जितेका छन् ।

आइतबार भएको पुरुष ४५ केजीमुनि फाइनलमा युकेशले गण्डकीका पन्नु लोधलाई पराजित गरे । प्रदेश १ का मनोज माझीले रजत र प्रदेश ५ का सुजवकुमार यादवले कास्य जिते ।

महिला ४२ केजीमुनि क्षितिजा गुरुङ पहिलो भइन् । फाइनलमा क्षितिजाले प्रदेश ५ की मुस्कान पुनलाई हराइन् । प्रदेश १ की कुसुम लिम्बू तथा गण्डकीकी सोनिया माझी तेश्रो भए ।

केन्द्रीयस्तरको प्रतियोगितामा एथलेटिक्स, भलिबल, कराते, तेक्वान्दो, उसु र कबड्डीमा प्रतिस्पर्धा भइरहेको छ । चार प्रदेश १, ४, ५ र ७ को सहभागिता रहेको प्रतियोगिताको एथलेटिक्समा ८८ खेलाडीले २६ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।

भलिबल र कबड्डीमा चारै प्रदेशबाट छात्रछात्राको टिम सहभागी छन् । करातेमा ४८ खेलाडीले ८ स्पर्धामा सहभागिता जनाएका छन् । व्यक्तिगत स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः ५ हजार, ४ हजार र ३ हजार नगद पुरस्कार पाउने छन् ।

टिममा पहिलोदेखि तेश्रो हुने खेलाडीलाई क्रमशः २ हजार ५ सय, २ हजार र १ हजार ५ सय नगद पुरस्कार दिइने छ । जुनियर राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीलाई १० हजार नगदबाट पुरस्कृत रने छ ।