
बुटवलमा शनिवारदेखि चौथो राष्ट्रिय मिडिया सम्मेलन-२०८३ सुरु भएको छ।
प्रकाशन तथा प्रसारण संघ, लुम्बिनी नेपालद्वारा आयोजित बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे सम्मेलनको उद्घाटन गरे।
नगरप्रमुख पाण्डेले कार्यक्रममा बोल्दै दुई तिहाई नजिकको सरकारले ल्याएको मिडिया नीतिले स्थानिय तह निकै समस्यामा परेको बताए।
उनले पछिल्लो मिडिया नीति सच्चाउन सरकारसमक्ष माग गरे।
उनले भने, ‘सरकारले मिडियालाई समाप्त गदै लोकतन्त्रलाई कमजोर बनाउन खोजेको छ।’
नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले कार्यक्रममा बोल्दै सरकार लोकतन्त्र समाप्त वनाउने खेलमा लागेकोले आरोप लगाइन्।
‘आम नागरिकको स्वतन्त्रताको हक कुण्ठित गर्न मिडियालाई समाप्त पार्ने रणनीतिमा लागेको छ’, शर्माले आफ्नो धारणा राखिन्।
प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले मिडियाहरुले आफूलाई पनि समयानुकुल परिष्कृत गर्दै अगाडी बढनुपर्नेमा जोड दिए।
नेपाल मिडिया सोसाइटीका अध्यक्ष मदन लम्सालले मिडिया सवल नहँुदासम्म लोकतन्त्रको सवलीकरण संभब नहुने औंल्याए।
सम्मेलनमा नेपाली संचार क्षेत्रका चुनौती, अवसर तथा समसामयिक विषयमा छलफल जारी छ।
प्रकाशन तथा प्रसारण संघ, लुम्बिनीका अध्यक्ष नवराज कुँवरको सभापतित्वमा भएको कार्यक्रममा महासचिव माधव नेपालले संचालन र उपाध्यक्ष विष्णु भुसालले स्वागत गरे।
दुई दिनसम्म संचालन हुने सम्मेलनले बुटवल घोषणापत्र जारी गर्ने कार्यक्रम छ।