नेपाली पत्रकारितामा एआईको प्रयोगसम्बन्धी कार्यशाला

एआईको भर पर्दा तथ्यगत गल्तीहरू (ह्यालुसिनेसन) गर्ने र संवेदनशीलता नबुझ्ने भएकाले ‘ह्युमन इन द लुप’ बढ्न सक्छ

जनसम्मत
असार ६, २०८३, शनिबार

प्रेस काउन्सिल नेपालले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को कार्याशाला आयोजना गर्‍यो।

प्रेस काउन्सिल नेपाल र फ्रिडम फोरमको संयुक्त आयोजनामा ‘नेपाली पत्रकारितामा एआईको नैतिक र जिम्मेवार प्रयोगका लागि इथिकल फ्रेमवर्क’ विषयक कार्याशाला आयोजना गरेको हो।

नेपाली पत्रकारितामा एआईको नैतिक र जिम्मेवार प्रयोगका लागि मार्गनिर्देशन तय गर्ने उद्देश्यका साथ काउन्सिलले कार्याशाला आयोजना गरेको हो।

सूचना प्रविधिको क्षेत्रमा विकास भएको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को तीव्र विस्तारले संचार क्षेत्रलाई पनि निकै प्रभावित पारेको सन्दर्भमा कार्याशाला आयोजना गरेको काउन्सिलले जनाएको छ।

सम्पादकहरूसँगको सो कार्यशालामा पत्रकार तथा मिडिया विज्ञ तारानाथ दाहालले ‘पत्रकारितामा एआईको जिम्मेवार, नैतिक र विश्वसनीय प्रयोग’ र पत्रकार जीवन भण्डारीले ‘नेपाली मिडियामा एआईको प्रयोग र आचारसंहिता’ सम्बन्धी कार्यपत्र प्रस्तुत गरे।

उनीहरूले विश्वभर पत्रकारितामा एआईको प्रयोग कसरी भइरहेको छ र नेपालको परिवेशमा यसका कस्ता चुनौतीहरू छन् भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरे।

कार्यक्रममा काउन्सिलका सदस्य सचिव एवं सूचना तथा प्रसारण विभागका महानिर्देशक छबिन्द्र पराजुलीले एआईको प्रयोगसम्बन्धी ज्ञान पत्रकार, अनुगमनकर्ता र आम नागरिकलाई आवश्यक भइसकेको औंल्याए।

काउन्सिलले यससम्बन्धमा ध्यान दिँदै कार्यक्रम बनाउने दाहालले बताए।

महानिर्देशक पराजुलीले राज्यका नीति नियम र प्रविधि विकासको गतिलाई सँगसँगै लैजानुपर्नेमा जोड दिए।

संचार माध्यमहरू आफैँले पनि एआई प्रयोगसम्बन्धी आन्तरिक निर्देशिका बनाउनुपर्ने उनीहरुको सुझाव थियो।

काउन्सिल नेपालका मुख्य अधिकृत झबिन्द्र भुसालले र एआई प्रविधि पत्रकारिताका लागि सहयोगी साधन भएपनि यसले मानव चेत र पत्रकारिताको मूल मर्मलाई विस्थापित गर्न नसक्ने उल्लेख गरे।

उनले नयाँ प्रविधिलाई अंगीकार गर्दा पत्रकारिताको विश्वसनीयता, तथ्यपरकता र जवाफदेहितामा सम्झौता हुन नहुनेमा जोड दिए।

काउन्सिलले पत्रकारितामा एआईको प्रयोगलाई नियमनभन्दा पनि व्यवस्थित र नैतिक बनाउन एउटा ठोस ‘इथिकल फ्रेमवर्क’ (नैतिक खाका) को आवश्यकता महसुस गरेर नै यो बहसको थालनी गरेको भुसालले सुनाए।

प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालले कार्यक्रमको सहजीकरण गरे।

खनालले एआईको वैज्ञानिक अवधारणा सन् १९४० को दशकमा सुरु भई ५० को दशकमा यस शब्दले मान्यता पाएको विचार राखे।

उनले एआईलाई सहायक साधनको रुपमा प्रयोग गर्न आग्रह गरे।

फ्रिडम फोरमका अध्यक्ष हरिविनोद अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यशालाको निष्कर्ष स्वरूप नेपाली पत्रकारिताका लागि एआई प्रयोगसम्बन्धी एक राष्ट्रिय ‘नैतिक र जिम्मेवार प्रयोगसम्बन्धी फ्रेमवर्क’ निर्माणका लागि सुझावहरूलाई समेटेर मस्यौदा तयार पार्ने प्रतिबद्धता व्यक्त गरे।

छलफलका क्रममा एआईले समाचार लेखन, अनुवाद र तथ्यांक विश्लेषणलाई सजिलो बनाएपनि यसको नाममा फैलाइन सक्ने ’डीपफेक’ र ‘डिसइन्फर्मेसन’ बाट नेपाली पत्रकारितालाई जोगाउनुपर्ने, यसका लागि एउटा बलियो नैतिक खाका आवश्यक रहेको, एआईको प्रयोगमा पारदर्शिता हुनुपर्ने, प्रतिलिपि अधिकारको रक्षा गर्नुपर्ने, पाठकको विश्वसनीयता कायम राख्नुपर्ने, यसका लागि सबैले प्रेस काउन्सिललाई साथ दिनुपर्नेलगायतका सुझावहरु सम्पादकहरुले दिएका छन्।

खुला छलफल सत्रमा सम्पादकहरूले आफ्ना दैनिक कार्यकक्ष (न्यूजरुम) मा एआई उपकरणहरू प्रयोग गर्दाका अनुभव, सहजता र जटिलताका सम्बन्धमा आ-आफ्ना अनुभवहरु सुनाए।

सम्पादकहरूले अहिले नेपाली न्यूजरुमहरूमा अनुवाद, भाषा परिमार्जन, शीर्षक छनोट, र सामाजिक सञ्जालका लागि सामग्री तयार पार्न एआईको प्रयोग दिनप्रतिदिन बढिरहेको बताए।

एआईले नेपाली भाषाको मर्म सधैँ सही रूपमा समात्न नसक्ने, तथ्यगत गल्तीहरू (ह्यालुसिनेसन) गर्ने र संवेदनशीलता नबुझ्ने भएकाले ‘ह्युमन इन द लुप’ अर्थात् मानिस (सम्पादक) को अन्तिम सम्पादन र प्रमाणीकरण विना एआईको भर पर्नु घातक हुने धारणा राखे।

कार्यशालामा दीपक ज्ञवाली, राजेश घिमिरे, जुनारबाबु बस्नेत, डिल्ली आचार्य, रामप्रसाद हुमागाई, भरतराज पोखरेल, अनुजराज ढुंगेल, कुवेर चालिसे, उर्वसी बस्नेत, कृष्णा पौडेल, उपासना घिमिरे, नवराज चालिसे, शिव सत्याललगायतले अनुभव राखेका थिए।