
गण्डकी प्रदेश र बागमती प्रदेशका प्रदेश प्रमुखले पोखरामा भेटघाट गरेका छन्।
गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट र बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबीच बिहीबार पोखरास्थित प्रदेश प्रमुख निवासमा भेटघाट भएको हो।
अन्तरप्रदेश भ्रमणका क्रममा यहाँ आइपुगेका बागमती प्रदेश प्रमुख देवकोटा र उनकी धर्मपत्नीलाई भट्टले निवासमा स्वागत गरे।
भेटमा मुलुकको राजधानी अवस्थित प्रदेश र पर्यटकीय राजधानी पोखरा रहेको प्रदेशबीच थप सम्बन्ध प्रगाढ बनाउँदै सहयोग र सहकार्य गर्नुपर्नेमा जोड दिइएको छ।
दुबै प्रदेश प्रमुखहरुले आ-आफ्नो प्रदेशको वस्तुस्थिति र त्यहाँ भइरहेका गतिविधिबारे अनुभव साझा गरे।
प्रदेश-प्रदेशबीच भएका राम्रा कामहरूको अनुसरण गर्ने, प्रदेश कार्यालयमा भए गरेका काम र अनुभवहरू आदान-प्रदान गर्ने विषयमा छलफल भएको गण्डकी प्रदेश प्रमुख सचिवालयले जनाएको छ।
प्रदेश प्रमुखद्वयले प्रदेशको संस्थागत विकास र मर्यादा बढाउन संविधान कार्यान्वयन गर्दै अगाडि बढ्न आवश्यक रहेकामा जोड दिए।
कार्यक्रममा गण्डकी प्रदेश प्रमुख कार्यालयका सचिव विजय राना, प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव रञ्जन अधिकारी, कार्यालयका उपसचिहरु रामेश्वर अर्याल र प्रविण पौडेल, लेखा अधिकृत युवराज पौडेल, बागमती प्रदेश प्रमुख कार्यालयका स्वकीय सचिव थानेश्वर न्यौपानेलगायतको उपस्थिति थियो।
उक्त अवसरमा बागमती प्रदेश प्रमुख देवकोटाले गण्डकी प्रदेश प्रमुख भट्टलाई आफ्नो प्रदेशमा भ्रमणका लागि निमन्त्रणासमेत गरे।
गण्डकी प्रदेश प्रमुख भट्टले गण्डकी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यको तस्वीर समेटिएको फ्रेमसहितको मायाको चिनो प्रदान गरे।