
पोखराका अग्रज पत्रकार, लेखक तथा समाजसेवी केशवराज पराजुलीको निधन भएको छ।
९२ वर्षीय गुरु पराजुलीको राति करिब १२:०० बजेको समयमा पोखरा-३, नदिपुरस्थित आफ्नै घरमा असामयिक निधन भएको हो।
पोखराको पत्रकारिता क्षेत्रमा अग्रज ‘गुरु’ को नामबाट परिचित पराजुली लामो समयदेखि अल्जाइमर्स रोगबाट ग्रसित थिए।
स्व. पराजुली पत्रकारिता, सामाजिक सेवा तथा प्रेस स्वतन्त्रताको पक्षमा सकृय थिए।
उनको निधनले पोखराको संचार, सामाजिक तथा बौद्धिक क्षेत्रमा गहिरो शोक परेको छ।
स्व. पराजुलीको पार्थिव शरीरको सेती नदी किनार तुलसीघाटमा अन्त्येष्टि गरिएको छ।
स्व. पराजुली जनमत दैनिकका संस्थापक र प्रधान सम्पादक थिए।
२०४० देखि जनमत दैनिकले आफ्नो प्रकाशन सुरु गरेको थियो।
लामो समयसम्म विभिन्न पत्रपत्रिकाहरुमा खोजमूलक लेख तथा रचनाहरु प्रकाशन गरेका पराजुलीका धेरै कृतिहरु प्रकाशित छन्।
स्व. पराजुलीको विशेषगरी खोजमूलक लेखनमा बढि रुची थियो।
पराजुलीले पोखराको पत्रकारिताको विकास, निष्पक्ष समाचार सम्प्रेषण तथा प्रेस स्वतन्त्रताको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याएका थिए।
पत्रकारितामार्फत समाजका विविध मुद्दालाई उजागर गर्नुका साथै सामाजिक उत्तरदायित्वका विभिन्न अभियानमा समेत उनी सकृय थिए।
पोखरेली पत्रकारिताका अध्येता तथा लेखकका रूपमा समेत उनको विशिष्ट पहिचान थियो।
स्व. पराजुलीका १ छोरा र ४ छोरी छन्।
रमा, वीवीसी नेपाली सेवामा कार्यरत् छिन्।
छोरी रमा पराजुली वन्त वरिष्ठ पत्रकार हुन् भने छोरा लोकरञ्जन ‘रमेश’ पराजुली अनुसन्धाता हुन्।
प्रजातान्त्रिक आन्दोलन तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उनले पुर्याएको योगदानको सम्मानस्वरूप विभिन्न संघसंस्था तथा निकायबाट समेत सम्मानीत भएका थिए।
यसअघि, पोखरा महानगरपालिकाले उनलाई ‘पोखरेली नवरत्न सम्मान’ प्रदान गरेको थियो।
उनको निधनप्रति पत्रकार महासंघ कास्कीले शोक वक्तव्य निकाल्दै, स्व. पराजुलीप्रति हार्दिक श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ।
महासंघ, कास्कीले भनेको छ, ‘पोखराको संचार, शिक्षा, राजनीति क्षेत्र तथा सामाजिक सचेतनाको विकासमा उहाँको योगदान अविस्मरणीय छ। पोखराको पत्रकारिता क्षेत्रले असल अभिभावक गुमाएको महसुस पत्रकार महासंघ कास्कीले गरेको छ।’
साथै, पत्रकार, सामाजिक अगुवा, विभिन्न संघंसंस्था तथा शुभेच्छुकहरूसमेतले गहिरो दु:ख व्यक्त गर्दै यसलाई पत्रकारिता क्षेत्रका लागि अपूरणीय क्षति भएको बताएका छन्।
स्व. पराजुलीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।
यसैबीच, उनको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै विभिन्न व्यक्तित्व तथा संस्थाहरूले शोक वक्तव्य जारी गरेका छन्।
उनीहरूले वरिष्ठ पत्रकार तथा समाजसेवी पराजुलीको असामयिक निधनले आफूहरू मर्माहत भएको उल्लेख गरेका छन्।
स्वर्गीय आत्माको चिरशान्तिको कामनासमेत गरेका छन्।
साथै शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामनासमेत व्यक्त गरेका छन्।
