पोखराका ६ युवाहरुलाई ‘पोखरा युथ एक्सेलेन्स अवार्ड’ प्रदान

पुरस्कारमार्फत युवा प्रतिभाको पहिचान, प्रोत्साहन र समाजमा सकारात्मक परिवर्तनका अभियानहरु थप प्रभावकारी बन्छन्

जनसम्मत
असार १८, २०८३, बिहीवार

पोखराका ६ युवाहरुलाई ‘पोखरा युथ एक्सेलेन्स अवार्ड’ प्रदान गरेको छ।

यस वर्ष, सो अवार्डबाट सम्मानीत हुनेहरुमा पत्रकारिता क्षेत्रकी दुर्गा रानामगरलगायत पर्यटन तथा युवा उद्यमशीलतामा प्रतीकराज पहारी, समाज सेवामा सुदीश पुन, युवा उद्यमशीलता, नवप्रवर्द्धन तथा रोजगारी क्षेत्रमा नवज्योति सुवेदी, खेलकुद क्षेत्रमा नारायणी भण्डारी तथा अपाङ्गता सशक्तीकरण क्षेत्रमा सन्ध्या सुवेदी छन्।

नगर युवा परिषद्को आयोजनामा बिहीबार सम्पन्न युथ फेस्टिभल-२०८३ का अवसरमा महानगर प्रमुख धनराज आचार्यले उनीहरूलाई दोसल्ला ओढाएर जनही ३० हजार रुपैयाँ नगदसहित अवार्ड प्रदान गरे।

प्रा.डा. भीमनाथ बराल संयोजक, तेज गुरुङ, मनोहर कडरिया, केशवशरण लामिछाने, अन्जु केसी र विक्रम कर्माचार्य सदस्य रहेको समितिले अवार्डका लागि प्रतिभा छनोट गरेको हो।

महानगर प्रमुख आचार्यले कार्यक्रममा बोल्दै सम्मानीत युवाहरूले आ-आफ्नो क्षेत्रमा गरेको योगदानले पोखराको पहिचान उकास्नुका साथै नेपालमै अवसर सिर्जना गर्न सकिन्छ भन्ने सन्देश नयाँ पुस्तामा प्रवाह गरेको उल्लेख गरे।

उनले प्रतिबद्धता जनाए, ‘युवाको सिर्जनशीलता, नेतृत्व र सकारात्मक पहललाई महानगरले निरन्तर प्रोत्साहन गर्दछ।’

नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष न्यौपानेले परिषद्ले हालसम्म ७ हजारभन्दा बढी युवालाई विभिन्न सीपमूलक तालिम, उद्यमशीलता, रोजगारी तथा सशक्तीकरणका कार्यक्रममा आबद्ध गरिसकेको जानकारी दिए।

प्रतिभा छनोट समिति संयोजक प्राडा भीमनाथ बरालले छोटो समयमै विभिन्न क्षेत्रका उदाहरणीय युवाको खोजी गरी केहीको कार्यस्थलमै पुगेर समेत मूल्यांकन गरिएको जानकारी दिए।

पोखरा महानगरपालिकाले ३५ वर्षमुनिका युवाको योगदानको कदर गर्दै प्रत्येक वर्ष विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने युवालाई सम्मान गर्दै आएको छ।

महानगरले यस्ता पुरस्कारमार्फत युवा प्रतिभाको पहिचान, प्रोत्साहन र समाजमा सकारात्मक परिवर्तनका अभियानलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।