
पोखराका कृयाशील पत्रकार विजय नेपाल ‘रोटरी जर्नो अवार्ड’ बाट सम्मानीत भएका छन्।
रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ (नेपाल–भुटान) ले उनीसहित देशभरका ७ जना पत्रकारलाई शुक्रबार काठमाडौँमा आयोजित एक विशेष समारोहमा जनही नगद ५१ हजार रुपैयाँसहित सो अवार्ड प्रदान गरेको हो।
पाल्पा रिब्दीकोट–७, मैनादी स्थायी घर भएका पत्रकार नेपाल विगत २ दशकदेखि पोखरामा रही निरन्तर पत्रकारितामा क्रियाशील छन्।
उनी आदर्श समाज दैनिकका कार्यकारी सम्पादक तथा राजधानी दैनिकका पोखरा संवाददाता हुन्।
रोटरी जर्नो अवार्ड प्राप्त गर्ने अन्य पत्रकारहरूमा गोरखाका सुदीप कैनी, सिन्धुलीका सागर बुढाथोकी, सुनसरीका विकल रेग्मी, ओखलढुंगाका सरोज ढुंगेल, काठमाडौँकी उर्वशी बस्न्यात र बाँकेकी रूपा गहतराज छन्।
सोही समारोहमा वरिष्ठ पत्रकार आदित्यमान श्रेष्ठ रु १ लाख १ हजार राशिको ‘यज्ञप्रसाद आचार्य रोटरी लाइफटाइम अचीभमेन्ट अवार्ड’ बाट सम्मानीत भए।
समारोहका प्रमुख अतिथि रोटरी इन्टरनेसनल डाइरेक्टर नोमिनी बासुदेव गोल्यान र रोटरीका डिस्ट्रिक्ट गभर्नर विनोद कोइरालाले पत्रकारहरूलाई पुरस्कृत गरेका हुन्।
पत्रकारितामार्फत समाजमा सकारात्मक परिवर्तन र सिर्जना गर्ने पत्रकारलाई रोटरीले सन् २०११ देखि रोटरी जर्नो अवार्ड प्रदान गर्दै आएको छ।
रोटरीले सेवा गर्ने क्षेत्रलाई आधार मानी विभिन्न विधामा देशभरिबाट अनलाइन आवेदन माग गरेकोमा छनोट समितिले उत्कृष्ट पत्रकारहरूको छनोट गरेको रोटरी जर्नो अवार्ड कमिटीका अध्यक्ष सुरेश आचार्यले जानकारी दिए।
फरक-फरक विधामा ५० पत्रकारका २६७ वटा समाचार सामग्री प्रतिस्पर्धामा रहेको उनले बताए।
जूरी प्यानलका कोअर्डिनेटर एवं वरिष्ठ पत्रकार तीर्थ कोइरालाले पत्रकारको क्षमताका आधारमा निकै स्वच्छ र पारदर्शी ढंगले उत्कृष्टको छनोट गरिएको स्पष्ट पारे।
प्रमुख अतिथि गोल्यानले पुरस्कृत पत्रकारहरूलाई बधाई दिँदै यस अवार्डबाट अब्बल र मेहनती पत्रकारहरूलाई अझ अगाडि बढ्ने प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।
कार्यक्रमका अध्यक्ष एवं डिस्ट्रिक्ट गभर्नर विनोद कोइरालाले रोटरीले सामाजिक सेवा सँगसँगै पत्रकारहरूलाई पनि बर्सेनि पुरस्कृत गर्दै आएको बताए।