नेपाल फिफा विश्वकप २०२२ को दोस्रो छनोट चरणमा

विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा परेको हो । नेपालसँगै समूहमा अष्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेइ र कुवेत छन्

जनसम्मत
श्रावण १, २०७६, बुधबार

पोखरा । फिफा विश्वकप २०२२ का लागि नेपाल सिधा छनोटको दोस्रो चरणमा पुगेको छ ।

छनोट चरणअन्तर्गत नेपाल तुलनात्मक रूपमा सहज समूहमा परेको छ । विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा परेको हो । नेपालसँगै समूहमा अष्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेइ र कुवेत छन् ।

त्यस्तै, समूह ‘ए’ मा चीन, सिरिया, फिलिपन्स, माल्दिभ्स र गुआम छन् । समूह ‘सी’ मा इरान, इराक, बहराइन, हङकङ र कम्बोडिया छन् । समूह ‘डी’ मा साउदी अरेबिया, उज्बेकिस्तान, प्यालेस्टाइन, यमन र सिंगापुर छन् ।

यसैगरी, समूह ‘ई’ मा कतार, ओमान, भारत, अफगानिस्तान र बंगलादेश छन् । समूह ‘एफ’ मा जापान, किर्गिस्तान, ताजिकिस्तान, म्यानमार र मंगोलिया छन् । समूह ‘जी’ मा यूएई, भियतनाम, थाइल्यान्ड, मलेसिया र इन्डोनेसिया छन् । समूह ‘एच’ मा दक्षिण कोरिया, लेबनान, उत्तर कोरिया, तुर्कमेनिस्तान र श्रीलंका छन् ।

दोस्रो चरणका छनोटका खेलहरु डबल राउन्ड रोबिनका आधारमा घरेलु र अवे टोलीको मैदानमा खेलिनेछ । दोस्रो चरणका खेलहरु सेप्टेम्बर ५, २०१९ देखि जुन ९, २०२० सम्म हुनेछ । यसअघि, नेपाल एसियाको शीर्ष ३४ स्थानभित्र परेपछि सिधै दोस्रो चरणका लागि छनोट भएको थियो ।

समूह चरणबाट कूल १२ टोली विश्वकप छनोटको अन्तिम चरणका लागि छनोट हुनेछन् । ८ समूहका समूह विजेता र ४ उत्कृष्ट उपविजेताले सन् २०२३ मा हुने एसियन कपमा पनि स्थान पक्का गर्नेछन् । अन्तिम छनोटका ४ उत्कृष्ट टोलीले विश्वकपमा स्थान बनाउनेछन् । पाँचौ टोलीले अन्तरमहादेशीय प्लेअफमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

गत संस्करणमा नेपाल विश्वकप छनोटको प्रारम्भिक चरणबाट नै बाहिरिएको थियो । प्लेअफमा भारतको सामना गरेको नेपालले पहिलो लिग २–० ले गुवाहाटीमा गुमाएको थियो । दोस्रो लिगमा नेपालले भारतलाई गोलरहित बराबरीमा रोकेको थियो । नेपाल यसपटक भने सिधै दोस्रो चरणमा पुगेको हो । अब छनोटको अन्तिम चरणमा पुग्न भने नेपालले बलिया टोलीविरुद्ध खेल्नुपर्ने छ ।

प्रशिक्षक कालिनको प्रतिक्रिया

 

नेपालका मुख्य प्रशिक्षक योहान कालिनले फिफा विश्वकप २०२२ को एसियाली छनौटतर्फ नेपाल समूह ‘बी’ मा परेको बारे आफ्नो प्रतिक्रिया दिएका छन् ।

स्मरण रहोस, मलेसियामा बुधबार निकालिएको दोस्रो राउण्डको ड्र तर्फ नेपाल पूर्व एसियन च्याम्पियन अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेइसँगै समुह बी मा परेको छ । तुलनात्मक रुपमा नेपाललाई कठिन समूह परेको धेरैको बुझाई छ ।

विश्वकप ड्र मा नेपाललाई कठिन प्रतिस्पर्धी पर्नेमा उनी आफूले अनुमान लगाएको प्रशिक्षक कलिन बताउँछन् ।

कालिन भन्छन्, ‘प्रतियोगितामा यो ड्र हुनु नै थियो । हामीले कुवेत र ताइपेइसँग खेलिसकेका छौं । त्यो हाम्रो लागि राम्रो र नराम्रो दुवै हुन सक्छ । हामी उनीहरुलाई आश्चर्यमा पार्न सक्षम छैनौं । तर, हामीलाई थाहा छ, हामीले उनीहरुबाट के आशा गर्न सक्छौं ?’

‘अष्ट्रेलिया पक्कै पनि राम्रो टोली हो । तर, पोल एकबाट जुन कुनै टोली पनि राम्रो नै हुने थिए । अब हामीलाई विश्वकप छनौटमा कुन टोलीसँग भिड्दैछौं भन्ने थाहा भयो । हामी सकेसम्म त्यही अनुसार आफ्नो तर्फबाट सक्दो तयारी गर्नेछौं । यो निकै रोमाञ्चक चुनौति हुनेछ,’ प्रशिक्षक कालिनले भनेका छन् ।

स्मरण रहोस, नेपालले विश्वकप छनौटका लागि यसअघि नै एन्फा कम्प्लेक्समा तयारी शुरु गरिसकेको छ । एन्फाले विश्वकप छनोटलाई ध्यानमा राखेर नेपाली टोलीका लागि आगामी कार्यक्रम र योजनाहरु छिटै सार्वजनिक गर्नेछ ।