नेपाल प्रहरी र प्रदेश प्रहरीसम्बन्धी विधेयक संशोधन गर्न गण्डकी प्रदेशका मन्त्री हरि चुमानको माग

जनसम्मत
चैत्र २६, २०७५, मंगलवार

पोखरा, २६ चैत ।गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले केन्द्रीय सरकारले नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कामको विषयमा संसदमा पेश गरेको विधेयकलाई संसोधन गर्न माग गरेका छन् ।

‘विधेयक जस्ताको तस्तै पास भए प्रदेश र स्थानीय सरकारले कानून बनाउन पर्दैन,’ मन्त्री चुमानले भने, ‘उक्त विधेयक संसोधन गर्न माग गर्दछु । उक्त विधेयकमाथि १९० वटा संसोधन प्रस्ताव पेश हुँदा पनि सरकारले मुख नखोल्नु दुखद् छ ।’

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले आयोजना गरेको संघीय संरचना र हाम्रो पत्रकारिता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

‘केन्द्र सरकारलाई यो विधेयक फिर्ता लिएर संसोधित विधेयक पेश गर्न सुझाव छ,’ उनले प्रष्ट पारे, ‘आफ्नै प्रहरी प्रशासनविनाको सरकार सरकार हुन सक्दैन । संविधानले नै दिएको अधिकार कटौति गर्ने ढंगले ल्याइएको विधेयक संसोधन या फिर्ताको विकल्प छैन ।’

‘काम गर्दै जाँदा देखिएका अन्योललाई चिर्दै र जनअपेक्षित काम गर्दै प्रदेश सरकारले आफूलाई अगाडि बढाउनेछ,’ उनले भने, ‘प्रदेश सरकारले केन्द्र सरकारसंग गुनासो नगरी आलोचना गरेको हो । सरकारले गुनासो नभई केन्द्र सरकारको आलोचना गरेका हौं । गुनासो कमजोरले गर्ने हो । सरकार कम्जोर छैनन् । त्यही भएर गुनासो नभन्नुहोला ।’

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले सिंहदरबारको निवृत्ति प्रदेशमा पनि आएको बताए । प्रदेश र स्थानीय सरकारलाई सक्रिय अनि स्थापित गर्न पत्रकारको भूमिका महत्वपूर्ण हुने उनको भनाई छ ।पत्रकारिता राजनीतिक आस्थाको छायाँमा परेकाले त्यसबाट माथि उठ्नुपर्ने उनको ठम्याई छ । लोकतन्त्र स्थापना गर्न भूमिका खेलेका सञ्चारमाध्यमलाई प्रदेश र स्थानीय सरकारले सही ढंगले बुझ्न नसकेकोमा उनले आपत्ति जनाए । प्रदेश र स्थानीय सरकारले केन्द्र सरकारलाई नै उछिनेर प्रेस स्वतन्त्रता संकुचित गर्नेगरी कानून ल्याएकाले सच्याइनुपर्ने र प्रेसमैत्री बनाइनुपर्नेमा जोड दिए ।

महासंघका पूर्व केन्द्रीय सदस्य रवीन्द्र बास्तोलाले संघीय सरकार र स्थानीय सरकारले गरेका कामबाट आम जनताले राहत पाए भन्ने विषय महत्वपूर्ण रहेको बताए । पत्रकारले यसैलाई प्राथमिकता दिनुपर्ने उनको भनाई छ ।

कार्यक्रम स्थल कालावाङ होम स्टेका  अध्यक्ष प्रकाश गुरुङले गाउँस्तरमा संचालन भएका विकास निर्माण, भएका आर्थिक कृयाकलापबारे पत्रकारहरुले खोज्ने र लेखिदिनुपर्ने धारणा राखे ।

कार्यक्रममा अवधारणा पत्र राख्दै पत्रकार केशवशरण लामिछानेले संघीयता कार्यन्वयनका क्रममा देखिएका जटिलताले पत्रकारलाई पनि गाँजेको बताए । सरकारहरुका बीचमा देखिएका अन्योललाई प्रष्टाउने समाचार लेखिनुपर्ने खाँचो उनले औंल्याए ।