‘प्रेम गीत–३’ मा समृद्धि शाही ठकुरी

समृद्धि, बाल्यावस्थाको ‘प्रेम’ अर्थात सानो हुँदाको प्रदिप खड्काको लागि फाइनल भएका बालकलाकार अनुभव रेग्मीको जोडी फाइनल भएकी छिन्

जनसम्मत
श्रावण २, २०७६, बिहीवार

पोखरा । सुपर हिट नेपाली चलचित्र ‘प्रेम गीत’ को तेस्रो सिक्वेल ‘प्रेम गीत–३’ बहुप्रतिक्षामा छ ।

सिनेमाप्रेमीबीच उक्त फिल्म अहिले निकै चर्चामा छ । चलचित्र ‘प्रेमगीत–३’ को लागि कलाकारको करिब करिब फाइनल भएको छ । कलाकार समेट्ने क्रममा अर्को एक बालकलाकार समृद्धि शाही ठकुरी फाइनल भएकी छिन् । यो सँगै फिल्मको मुख्य भूमिकाका लागि लगभग कलाकारहरु फाइनल भइसकेका छन् ।

समृद्धि, बाल्यावस्थाको ‘प्रेम’ अर्थात सानो हुँदाको प्रदिप खड्काको लागि फाइनल भएका बालकलाकार अनुभव रेग्मीको जोडी फाइनल भएकी छिन् । बाल्यावस्थाको गीतको लागि समृद्धी शाही ‘ठकुरी’ फाइनल भएकी हुन् । समृद्धीले अनुभवको जोडीको भूमिका निभाउनेछिन् । समृद्धीले यही चलचित्रबाट सिनेमामा डेब्यु गर्नेछिन् ।

निर्माता सन्तोष सेनले निर्माण गर्न लागेको ‘प्रेम गीत–३’ आशुसेन फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको हो । चलचित्रमा शिब श्रेष्ठ, सुनिल थापा, प्रदीप खडका, कृष्टिना गुरुङ, मनिष रावत, पुष्कर कार्की, अनुभव रेग्मी, समृद्धी शाही लगायतको मूख्य अभिनय रहनेछ ।

चलचित्रमा निर्माता सन्तोष सेनको पनि अभिनय रहनेछ । सन्तोषले यसअघि ‘प्रेम गीत–२’ मा पनि खलपात्रको भूमिका निभाएका थिए । आउँदो चैतको आन्तिम साता प्रदर्शन मिति तय गरेको चलचित्रलाई छेतन गुरुङ र निर्माता सेनले संयुक्त रुपमा निर्देशन गर्नेछन् ।