तीर्थकुमारी थापालाई लाइफ टाइम अचिभमेन्ट

कार्यक्रममा लोक, आधुनिक, राष्ट्रिय भाव, चलचित्र लगायतका नेपाली गीत संगीतका विविध ३८ विधामा अवार्ड प्रदान गरिनेछ

जनसम्मत
श्रावण ४, २०७६, शनिबार

पोखरा । साधना म्युजिक अवार्ड २०७६ अन्तर्गत गायिका तीर्थकुमारी थापालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ ।

यही साउनको ६ गते सोमबारको दिन सामना म्युजिक क्रियशनको आयोजनामा पहिलोपटक साधना म्युजिक अवार्ड २०७६ हुने भएको हो ।

खानेपानी मन्त्री विना मगरले एक समारोहबीच लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गर्ने कार्यक्रम छ । प्रतिष्ठित गायिका थापालाई नगद राशीसहित लाइफ टाइम अचिभमेन्ट अवार्ड अर्पण गर्न लागिएको हो ।

समारोहमा गीत संगीत क्षेत्रमा लामो समयदेखि कृयाशील रहँदै आएका म्युजिक खबरका सम्पादक सविता पोखरेल, राष्ट्रखबरका पत्रकार राज लुइँटेल र रेडियो नेपालका संचारकर्मी क्षितिज समर्पण गरी ३ जनालाई ‘साधना संगीत पत्रकारिता पुरस्कार’ प्रदान गरिनेछ ।

त्यसैगरी अवार्डमा नेपाली गीत संगीत क्षेत्रमा विशेष योगदान दिएका विशिष्ट कला साधकलाई ‘साधना विशेष सम्मान’ समेत प्रदान गरिने आयोजक सामना म्युजिक क्रियशनले जनाएको छ ।

कार्यक्रममा लोक, आधुनिक, राष्ट्रिय भाव, चलचित्र लगायतका नेपाली गीत संगीतका विविध ३८ विधामा अवार्ड प्रदान गरिने भएको छ । कार्यक्रम राष्ट्रिय सभागृह भृकुटीमण्डमा आगामी असार ६ गते सोमबार दिउँसो १ बजेबाट संचालन हुने आयोजक संस्थाले जानकारी दिएको छ ।