नेपाली राष्ट्रिय कीपर किरण आइलिगमा अनुवन्ध

यसअघि २०१७/०१८ को सिजनमा पनि किरणले पन्जाबबाट आइलिग खेलेका थिए, उनको उत्कृष्ट प्रदर्शनसँगै पन्जाब त्यस सिजनको लिगमा पहिलोपटक च्याम्पियन बनेको थियो ।

जनसम्मत
श्रावण ४, २०७६, शनिबार

पोखरा । नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङले भारतको शीर्ष डिभिजनको आइलिग खेल्ने भएका छन् ।

आइलिगको टिम मिनर्वा पन्जाबले किरणलाई अनुबन्ध गरेपछि उनले आइलिग खेल्ने पक्का भएको हो ।

पन्जाबले फेसबुकमार्फत किरणलाई २०१९/०२० को सिजनका लागि अनुबन्धको घोषणा गरेको थियो । यसअघि २०१७/०१८ को सिजनमा पनि किरणले पन्जाबबाट आइलिग खेलेका थिए । उनको उत्कृष्ट प्रदर्शनसँगै पन्जाब त्यस सिजनको लिगमा पहिलोपटक च्याम्पियन बनेको थियो ।

तर, २०१८/०१९ को सिजनमा पन्जाबले किरणलाई अनुबन्ध गरेन । जसका कारण डिफेन्डिङ च्याम्पियन पन्जाब अंकतालिकाको १० औं स्थानमा खुम्चिएको थियो । पन्जाबले गत सिजनको आफ्नो गल्ती नदोहो¥याउन किरणलाई नयाँ सिजनका लागि अनुबन्ध गरेको हो ।

‘किरण चेम्जोङ लिम्बु मिनर्वा परिवारमा फर्किएको घोषणा गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौं,’ पन्जाबले फेसबुकमा किरणले पेनाल्टी बचाएको भिडियो पोस्ट गर्दै लेखेको छ ।

किरणले पन्जाबबाट खेल्नुअघि माल्दिभ्सको लिग पनि खेलेका थिए । टीसी स्पोर्ट्स क्लबबाट माल्दिभ्सको शीर्ष डिभिजनको धिबेही लिग खेल्दै उनले टिमलाई च्याम्पियन समेत बनाएका थिए । उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई च्याम्पियन बनाएका किरणले माल्दिभ्समा उत्कृष्ट गोलकिपर बन्दै ‘गोल्डेन ग्लोभ्स’ समेत जितेका थिए ।

यस सिजन पनि किरणसँग टीसी स्पोर्ट्सले सम्झौता गरेको थियो । तर, नेपालको माल्दिभ्स र चाइनिज ताइपेईविरुद्धको खेल र माल्दिभ्सको लिग एकै समयमा परेकाले उनले सम्झौता रद्द गर्दै नेपालका लागि खेलेका थिए ।