समयमै साग गेम हुन्छ : मन्त्री विश्वकर्मा

पोखरा रंगशालाभित्रको फुटबल मैदान प्रकृतिक नै बन्नुपर्छ

जनसम्मत
श्रावण ८, २०७६, बुधबार

पोखरा । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता समय सीमाभित्र हुने दाबी गरेका छन् ।

खेलकुद पत्रकार मञ्च गण्डकीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री विश्वकर्माले भने, ‘साग गेम समयमै हुन्छ कि हुँदैन भनेर मनमा आशंका र दुविधा कसैले राख्नुपर्दैन ।’

मन्त्री विश्वकर्माले १३ औं साग गेमलाई समय सीमाभित्रै आयोजना गर्ने नेपाल सरकारले लक्ष लिएको जिकिर गरे । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सरकारले साग गेमलाई समेत रकम विनियोजन गरिसकेको मन्त्री विश्वकर्माले प्रष्ट पारे ।

सहभागी राष्ट्रहरुलाई समेत समय सीमाभित्रै साग गेमका लागि खेलाडी तयार पार्न सरकारले आमन्त्रण गरिसकेको उल्लेख गरे । आयोजक राष्ट्रको हिसावले पनि खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राखिएको मन्त्री विश्वकर्माले जानकारी दिए ।

साग गेम आयोजना गर्र्न पाउनु देशको इज्जत र प्रतिष्ठाको विषय बनेको मन्त्री विश्वकर्माको भनाई थियो । उनले भने, ‘साग खेलकुदको आयोजकको हिसावले प्रतिष्ठा र गौरव जोडिएको छ । राज्यले साग गेमलाई महत्वका साथ हेरेको छ । साग गेमको पूर्वाधारलाई प्रमूख प्राथमिकतमा राखेको छ ।’

मन्त्री विश्वकर्माले भूकम्पले क्षति पु¥याएको दशरथ रंगशालाको निर्माण कार्य करिब करिब पूरा भएको जनाए । उनले भीआइपी प्यारापीठमा छानो राख्ने कामबाहेक अन्य कामहरु अन्ति चरणमा पुगेको उल्लेख गरे । मन्त्री विश्वकर्माले साग गेमको उद्घाटन र समापन पनि दशरथ रंगशालामा हुने भएकोले भौतिक पूर्वाधारमा विशेष जोड दिइएको जनाए । उनले अक्टुबर १० तारिखभित्र सबै काम सक्ने लक्ष रहेको बताए ।

दशरथ रंगशालाबाहेक सातदोबाटोमा पनि खेलकुदको भौतिक पूर्वाधार निर्माणमा तीब्रता दिइएको मन्त्री विश्वकर्माले बताए । सातदोबाटोमा हिटिङ स्वीमिङ पुल, लन टेनिस कोर्टलगायतका भौतिक पूर्वाधारहरुको निर्माण कार्यको थालनी गरिएको उनको भनाई थियो । खेलकुदको भौतिक पूर्वाधार निर्माण पूरा गर्न बजेटमा व्यवस्था गरिएको र नपुग बजेटमा सरकारले थप व्यवस्था गर्ने उनले दाबी गरे ।

पोखरालाई भेनू बनाएर हुने साग गेमका पूर्वाधार निर्माणमा विशेष जोड दिइएको मन्त्री विश्वकर्माले बताए । आर्चरी, स्वास र ब्याडमिन्टनमा बजेट छुटेको बताउँदै सरकारले ति खेलकुदका लागि बजेटको व्यवस्था गरिसकेको प्रष्ट पारे । साग गेमका लागि पोखराले भेनू पाएको उनको जिकिर थियो ।

पोखरा रंगशालाभित्रको फुटबल मैदान प्रकृतिक नै बन्नुपर्नेमा मन्त्री विश्वकर्माले जोड दिए । उनले फाइनल डिजाइन पनि एक हप्ताभित्र आउने ग्यारेन्टी दिए । आर्टिफिसियल कामलाई रोकेर प्राकृतिक फुटबल मैदान बनाउने कुरामा निर्माण कम्पनीसँग सम्झौता भएको जनाए ।

‘पोखरा स्टेडियमको फुटबल ग्राउण्ड नेचुरल्ली नै बन्नुपर्छ । भोलीका दिनहरुमा यहाँ अन्तराष्ट्रिय गेम हुँदा मान्यता पाउने किसिमको अन्तराष्ट्रिय मैदान बन्नुपर्छ,’ मन्त्री विश्कर्माले उल्लेख गरे, ‘कात्तिकको १५ गतेभित्र पोखरा रंगशालाको फुटबल मैदानको निर्माण कार्य पूरा हुन्छ । निर्माण कम्पनीलाई समेत त्यही किसिमको निर्देशन दिएका छौं ।’

नवौं राष्ट्रिय खेलकुदलाई लक्षित गरेर पोखरामा स्वीमिङ पुल, सूटिङ र क्रिकेट मैदानको निर्माण गर्ने पक्षमा सरकार रहेको मन्त्री विश्वकर्माले उल्लेख गरे । उनले खेलका पूर्वाधारहरु अन्तराष्ट्रिय स्तरकै हुने दावी गरे ।

‘अब पोखरामा बन्ने स्वीमिङ पुल, सुटिङ र क्रिकेट मैदान अन्तराष्ट्रिय स्तरकै बन्छ,’ मन्त्री विश्वकर्माले भने, ‘यि पूर्वाधारका लागि चालु आ.व.को बजेटमा समेत विनियोजन भइसकेको छ ।’

यसअघि, खेलकुद मन्त्री विश्वकर्माले पोखरा रंगशालाको निरीक्षण गरेका थिए ।

तस्वीर : सुदर्शन रञ्जित