आइसीसी टी–२० विश्वकप एसिया छनोटमा कतारसँग नेपालको हार

१ सय २३ रनको सामान्य लक्ष्य पछ्याएको कतारले २० औं ओभरमा ६ विकेट गुमाउँदै पुरा गरेको थियो

जनसम्मत
श्रावण ८, २०७६, बुधबार

पोखरा । आइसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपाल पहिलो खेलमा कतारसँग पराजित भएको छ ।

उपाधिको प्रमुख दाबेदार नेपाललाई ४ विकेटले हराउँदै कतारले अघिल्लो चरणको यात्राको सम्भावना कायमै राखेको छ ।

हारसँगै नेपाललाई भने ठूलो धक्का लागेको छ । १ सय २३ रनको सामान्य लक्ष्य पछ्याएको कतारले २० औं ओभरमा ६ विकेट गुमाउँदै पुरा गरेको थियो । कतारका लागि इनाम उल हकले सर्वाधिक ४१ रनको योगदान दिए । १४ औं ओभरको चौथो बलमा रन आउट हुनुअघि उनले ३२ बलमा ६ चौका प्रहार गरे ।

कतारले ओपनर फैसल जभिदलाई दोस्रो ओभरको पहिलो बलमा १ रनमा गुमाएको थियो । उनलाई सन्दीप लामिछानेले सोमपाल कामीबाट क्याच आउट गराए । पाँचौ ओभरको पहिलो बलमा खानलाई सन्दीप लामिछानेबाट १५ बलमा समान २ चौका र छक्का सहित रनमा २२ रनमा क्याच आउट गरे ।

सन्दीपले दशौं ओभरको पाँचौ बलमा मोहम्मद तनबीरलाई ११ रनमा क्याच आउट गराए । त्यस्तै, सन्दीपले नै जाहीर इब्राहिमलाई १२ रनमा क्याच आउट गराए । तमोर शज्जाद ९ रनमा रन आउट भए । नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । करण केसीले १ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा अल आउट हुँदै १ सय २२ रनमा समेटियो । नेपालका लागि युवा खेलाडी दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३४ रन बटुले । नोउमान सनवरले १९ ओभरको तेस्रो बलमा बोल्ड आउट गर्नुअघि दीपेन्द्रले ३५ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

नेपालले पहिलो विकेटका रुपमा कप्तान पारस खड्कालाई छैटौं ओभरको अन्तिम बलमा २८ रनमा गुमाएको थियो । इनवम उल हकको बलमा ठूलो सर्ट खेल्ने धुनमा क्याच आउट हुनुअघि पारसले १७ बलमा ४ चौका र १ छक्का प्रहार गरे । पारसले पहिलो विकेटका लागि ज्ञानेन्द्र मल्लसँग ४९ रनको साझेदारी गर्दै नयाँ कीर्तिमान रच्न सफल रहे ।

कतारसँग पहिलो विकेटका गरेको ४९ रनको साझेदारी नेपालले टी–२० आईमा गरेको हालसम्मको उच्च साझेदारी हो । यसअघि सन् २०१४ को विश्वकपमा हङकङसँगको खेलमा सुवास खकुरेल र सागर पुनले गरेको ३६ रनको साझेदारी पहिलो विकेटका लागि उच्च रहँदै आएको थियो ।

नेपाली टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल २३ रनमा आउट भए । तमोर शज्जादले नवौं ओभरको दोस्रो बलमा इकवाल हुसेनबाट ज्ञानेन्द्रलाई क्याच आउट गराएका थिए । यसअघि, ज्ञानेन्द्र मल्लले २४ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

११ औं ओभरको पहिलो बलमा शरद भेषवाकर समेत ठूलो सर्ट खेल्ने धुनमा ७ रनमा क्याच आउट हुन पुगे । १४ ओभरको पाँचौ बलमा सोमपाल कामीले २ रन लिने क्रममा ११ रनमा रन आउट भए । १८ ओभरको चौथो बलमा विनोद भण्डारी पनि ठूलो सर्ट खेल्ने धुनमा ३ रनमा आउट भए ।

करण केसी ४ रनमा बोल्ड आउट भए । सन्दीप लामिछाने ९ रनमा रन आउट भए । नेपाललाई सस्तैमा रोक्न कतारका लागि इकवाल हुसेनले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । तमोर शज्जाद र नोउमान शनवारले समान २ विकेट लिए । त्यस्तै इनवाल हसनको नाममा १ विकेट रह्यो ।

यस्तो छ छनोट प्रक्रिया

हाल भइरहेको आइसीसी टी–२० विश्वकप एसिया छनोटबाट दुई देश ग्लोबल क्वालिफायरका लागि छनोट हुने भएपनि यूएई ग्लोबल क्वालिफायरको आयोजक राष्ट्रका रुपमा छनोट भइसकेको छ ।

यस प्रतियोगिताबाट शीर्ष स्थानमा रहने टोलीमात्र ग्लोबल क्वालिफायरमा छनौट हुने भएकोले पनि नेपाललाई सबै खेल जितेर आफूलाई अब्बल सावित गराउनुपर्ने कठिन स्थिति छ ।

यस प्रतियोगिताबाट सफल भएर अगाडि जान सकेपनि विश्वकपमा पुग्न नेपालले यसभन्दा अझ कठिन चुनौतीको सामना गर्नुपर्ने हुन्छ । ग्लोबल क्वालिफायरमा विभिन्न क्षेत्रबाट छनोट भएर आएका १४ राष्ट्रसँग प्रतिस्पर्धा गरेर शीर्ष चारमा पर्न सकेमात्र नेपालको विश्वकप खेल्ने सपना सार्थक हुनेछ ।

एसिया छनोटको पहिलो खेलमै कतारसँग हार बेहोरेपछि नेपाललाई ग्लोबल क्वालिफायरसम्म पुग्न नै कठिन देखिएको छ । ग्लोबल क्वालिफायर छिचोलेर विश्वकपकै मैदानमा उत्रने नेपालको सपना असम्भव जस्तै छ । यसभन्दा अगाडिका खेलहरु नेपालका लागि सोचेजस्तो सहज छैन ।