अन्तर्राष्ट्रिय बक्सिङमा नेपालका सुशिल थापा क्वार्टरफाइनलमा

सुशिलले पाकिस्तानी बक्सर इर्दलाई दोश्रो राउण्डको दोस्रो मिनेटमा आरएससीको आधारमा हराएका हुन्

एजेन्सी
श्रावण ८, २०७६, बुधबार

नेपालका सुशिल थापाले थाइल्याण्डमा जारी खुला अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिताको क्वाटरफाइनल यात्रा गरेका छन् ।

पुरुषको ४९ केजी लाईट फ्लाइट तौल समूहमा सोमबार पाकिस्तानी खेलाडी इर्द उल्लाइलाई पराजित गदै सुशिल क्वाटरफाइनलमा प्रवेश गरेका हुन् । सुशिलले पाकिस्तानी बक्सर इर्दलाई दोश्रो राउण्डको दोस्रो मिनेटमा आरएससीको आधारमा हराएका हुन् ।

सुशिलले दोश्रो राउण्डको पहिलो मिनेटमा उल्लाहलाई ढालेपछि काउण्टमा परेका थिए । लगातार उत्कृष्ट मुक्का प्रहार गरेका सुशिलले उल्लाइलाई एकै राउण्डमा तीन पटक काउण्टको धरापमा पारेका थिए ।

अन्तर्राष्ट्रिय बक्सिङ संघको नियम अनुसार एउटै राउण्डमा तीन पटक काउण्ट पाएपछि खेलाडीले धेरै मार खानु नपरोस भनेर रेफ्रीले खेल रोक्दै बिपक्षलाई बिजयी गराउने नियम छ । नेपालमा हुने १३ औं सागको तयारीका लागि नेपाल बक्सिङ संघले बिगत २ हप्ता देखि ७ महिला र १० पुरुषलाई थाइल्याण्डमा बैदेशिक प्रशिक्षणमा राखेको छ ।