लामाचौरको तीज महोत्सवमा महिला भलिबललाई निरन्तरता

राष्ट्रिय महिला भलिबलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन्

जनसम्मत
श्रावण ८, २०७६, बुधबार

पोखरा । पोखराको लामाचौरमा एक महिनापछि तीज महोत्सव हुँदैछ ।

तीज महोत्सवमा विगतमा जस्तै आठौं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको आयोजना हुँदैछ । नव आदर्श सामुदायिक विकास समाजले वर्षेनी तीजे महोत्सवमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गर्दै आएको हो ।

राष्ट्रिय महिला भलिबलसँगै विद्यालयस्तरीय छात्रा भलिबल समेत समावेश गरिएको छ । पोखरा–१९ लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माविको खेल मैदानमा आयोजना गरिने राष्ट्रिय महिला भलिबलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । भलिबललाई रेडबुलले प्रायोजन गर्ने भएको महोत्सव संयोजक बुद्धिबहादुर खत्री क्षत्रीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

उक्त अवसरमा कास्की जिल्ला सितेरियो कराँते संघको व्यवस्थापनमा नरबहादुर बानियाँ स्मृति सितेरियो कराँते च्याम्पियनसिपसमेत आयोजना गरिने क्षत्रीले बताए ।

२०५४ सालमा स्थापित नवआदर्श क्लबले स्थापनासँगै हरितालिका तीजको अवसरमा भलिबल प्रतियोगितालाई प्राथमिकता दिदैं आएको छ । राष्ट्रियस्तरको प्रतिस्पर्धा गरेको भने यो आठौं वर्ष हो । त्यसभन्दा अघि पश्चिमाञ्चलस्तरीय प्रतिस्पर्धा गर्दै आएको थियो । महोत्सव आगामी भदौ १२ देखि १६ गतेसम्म सञ्चालन हुनेछ ।

भलिबल विजेताले १ लाख १५५ रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले ६५ हजार ५ रुपैयाँको पाउनेछ । तेस्रो हुने टोलीलाई नगद २५ हजार ५ रुपैयाँ प्रदान गरिने प्रचारप्रसार संयोजक क्षत्रीले बताए । प्रतियोगिताको उत्कृष्ठ खेलाडीलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ । खेल लिगकम नकाउटमा खेलाइनेछ । विद्यालयस्तरीय प्रतिस्पर्धाको विजेताको हकमा भने २५ हजार, उपविजेतालाई १५ हजार र तेस्रो हुने विद्यालयलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ ।

तीजकै अवसरमा महिलाहरुलाई लक्षित गर्दै तीज गीत प्रतियोगिता समेत आयोजना हुनेछ । तीज गीत प्रतियोगिताको विजेतालाई २५ हजार, उपविजेतालाई १५ हजार तथा तेस्रो हुने टोलीलाई नगद १० हजार रुपैयाँ एवं सान्त्वना स्वरुप ५ हजार रुपैयाँ समेत प्रदान गरिने छ ।

विद्यालयस्तरीय लोक नृत्य प्रतियोगितालाई समेत क्लबले प्रवद्र्धन गर्दै विजेतालाई २५ हजार, उपविजेतालाई १५ हजार, तेस्रोलाई १० हजार, सान्त्वना हुने दुई टोलीलाई ३÷३ हजार रुपैयाँ प्रदान गरिनेछ । एकल नृत्य प्रतियोगिताको विजेतालाई १० हजार रुपैयाँ प्रदान गरिने छ । उपविजेतालाई ७ हजार र तेस्रोलाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जानकारी गराएको छ ।