आइसीसी टी–२० विश्वकपमा मलेसियामाथि नेपालको जित

मलेसियाले पेश गरेको ८४ रनको लक्ष्य नेपालले ३ विकेटको क्षतिमा ८ ओभरमै पूरा गरेको थियो

जनसम्मत
श्रावण ९, २०७६, बिहीवार

पोखरा । आइसीसी टी–२० विश्वकप एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले महत्वपूर्ण जित हासिल गरेको छ ।

मलेसियालाई ७ विकेटले पराजित गरेपछि नेपालले उपाधि होडमा कमब्याक गरेको छ । मलेसियाले पेश गरेको ८४ रनको लक्ष्य नेपालले ३ विकेटको क्षतिमा ८ ओभरमै पूरा गरेको थियो ।

वर्षाका कारण खेल ९ ओभरमा झारिएको थियो । कप्तान पारस ढाडको समस्याका कारण आराम गरेपछि नेपालको ओपनिङ ज्ञानेन्द्र मल्ल र प्रदीप ऐरीले सम्हालेका थिए । ज्ञानेन्द्र र प्रदीपले पहिलो विकेटका लागि ६६ रनको साझेदारी गरेपछि नेपालको सहज जित सम्भव भएको हो । यो टी–२० मा नेपाली ब्याट्सम्यानले अहिलेसम्म गरेको सर्बाधिक साझेदारीको कीर्तिमान हो ।

ज्ञानेन्द्रले २१ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ५१ रनको कीर्तिमानी पारी खेले । यो नेपाली ब्याट्सम्यानले टी–२० क्रिकेटमा थोरै बलमा अर्धशतक बनाउने कीर्तिमान हो । यसअघि, यो कीर्तिमान विनोद भण्डारीको नाममा थियो । प्रदीपले १४ बलमा १२ रन बनाएर ज्ञानेन्द्रलाई राम्रो साथ दिए ।

विनोद भण्डारीले ८ बलमा १ छक्कासहित अविजित १३ रन बनाए । दीपेन्द्र ऐरीले २ रन बनाएर आउट भए । शरद भेषावकर ३ रनमा अविजित रहे । मलेसियाका मोहम्मद स्याहादातले ३ विकेट लिए ।

यसअघि, सिंगापुरको इन्डियन एसोशिएसन मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ९ ओभरमा ७ विकेट गुमाएर ८३ रनको योगफल खडा गरेको थियो । नेपाली फाष्ट बलर सोमपाल कामीले मलेसियाका दुवै ओपनरलाई पहिलो ओभरमै आउट गरे । पारीको पहिलो बलमै सोमपालले अनवर अरुद्दिनलाई अविनाश बोहोराको हातबाट क्याच आउट गराए । त्यस ओभरको अन्तिम बलमा सोमपालले अर्का ओभर अफिक सरिफलाई एलबीडब्ल्यू धरापमा पारे । अरुद्दिन र अफिक सरिफ दुवैले खाता खोल्न सकेनन् ।

तेस्रो नम्बरमा आएका सयद अजिजले विष्फोटक ब्याटिङको प्रयास गरे । सोमपाललाई लगातार ३ चौका र सन्दीप लामिछानेको बलमा छक्का प्रहार गरेका उनी सन्दीपकै बलमा दीपेन्द्र ऐरीको हातबाट क्याच आउट भए । उनले १५ बलमा ५ चौका र १ छक्कासहित ३० रनको योगदान गरे ।

त्यसअघि, सोमपालले आफ्नो तेस्रो विकेट लिने क्रममा अमिनुद्दिन राम्लेलाई बोल्ड गरेका थिए । पाँचौं ओभरको पाँचौं बलमा करण केसीले मोहम्मद स्यादातलाई १ रनको व्यक्तिगत स्कोेरमा आउट गरे । ६ ओभरको खेल सकिँदा मलेसिया ५४–५ को स्थितिमा थियो ।

आठौं ओभरमा अनुभवी स्पिनर बसन्त रेग्मीले २ विकेट झारे । ओभरको अन्तिम २ बलमा उनले क्रमसः विरनदीप सिंहलाई २१ र अहमद फाइजलाई ९ रनको स्कोरमा आउट गरेका हुन् ।

आफ्नो पहिलो खेलमा कतासँग हारेको नेपालले अब शनिबार कुवेत र आइतबार सिंगापुरसँग खेल्ने छ । पहिलो खेलमा नेपालले कतारसँग ४ विकेटले अप्रत्यासित हार ब्यहोरेको थियो । यसकारण पनि नेपाललाई मलेसियासँगको खेल जित्नैपर्ने दबाब थियो । प्रतियोगिताको दाबेदार मानिएको नेपालले सिंगापुर जानुअघि मलेसियासँग भएको मैत्रीपूर्ण सिरिजमा ‘क्लीन स्वीप’ गरेको थियो ।