बडी बिल्डिङका खेलाडीलाई सम्मान गरिदैं

च्याम्पियनसीपमा नेपालले भारतलाई पछि पार्दै ३ स्वर्ण ७ रजत र ६ कास्य जितेको थियो

जनसम्मत
श्रावण ९, २०७६, बिहीवार

पोखरा । साउनको गत ४ गते राजधानी काठमाण्डौंमा सम्पन्न साउथ एसियन बडी बिल्डिङ एण्ड फिजिक स्पोर्ट्स च्याम्पियनसीप–२०१९ मा पदक विजेता नेपाली खेलाडीहरुलाई सम्मान गरिने भएको छ ।

च्याम्पियनसीपमा राष्ट्रको शिर उचो राखन सफल भएको भन्दै नेपाल शारीरिक सुगठन तथा फिटनेश संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले सम्मान गर्ने भएको जनाइएको छ ।

संघले बुधबार एक बिज्ञप्ती जारी गर्दै संघका अध्यक्षको तर्फबाट उक्त च्याम्पियनसीपमा स्वर्ण हात पार्नेलाई ५० हजार, रजतलाई ३० हजार र कास्यलाई २० हजार नगदसहित सम्मान प्रदान गर्ने निर्णय भएको जानकारी गराएको हो । १८ विधामा प्रतिस्पर्धा गराइएको

च्याम्पियनसीपमा नेपालले भारतलाई पछि पार्दै ३ स्वर्ण ७ रजत र ६ कास्य जितेको थियो । टिम च्याम्पियन भने अफगानिस्तान बनेको थियो ।
यस्तै, थाइल्यान्ड बडी बिल्डिङ एण्ड फिजिक स्पोर्ट्स एशोसिएसनको आयोजनामा यही साउनको ३१ देखि भदौको १ गनेसम्म बैंककमा हुने एसिया प्यासिफिक बडी बिल्डिङ च्याम्पियनसीप–२०१९ का लागि साउथ एसियन बडी बिल्डिङ एण्ड फिजिक स्पोर्ट्स च्याम्पियनसीप–२०१९ मा विजयी खेलाडी र अफिसियललाई समावेश गराउने निर्णय गरेको विज्ञप्तीमा जनाइएको छ ।

उक्त च्याम्पियनसीपमा नेपालका समीर श्रेष्ठले सिनियरतर्फ ६५ केजीमा स्वर्ण हात पारेका थिए । नरेश मुनिकारले १६७ सेमिमाथिको पुरुष एथ्लेटिक्स फिजिकमा तथा मल्लिका शाक्यले महिला मोडल फिजिकमा स्वर्ण हात पारेका थिए । उनीहरुले सोही विधामा स्पर्धा गर्ने नेपाल शारीरिक सुगठन तथा फिटनेश संघका उपाध्यक्ष दिनेश राजभण्डारीले जानकारी गराएका छन् ।

भदौको २६ देखि असोज १, सम्म मंगोलियाको होहोत शहरमा हुुन गइरहेको ५३ औं एसियन बडी बिल्डिङ एण्ड फिजिक स्पोर्ट्स च्याम्पियनसीप–२०१९ मा शारीरिक सुगठन प्रतियोगिताका ३ जना, पुरुष स्पोर्ट्स फिजिक्स तथा महिला एथ्लेटिक्स फिजिक्समा ४ जना र पुरुष एथ्लेटिक्स फिजिकमा २ जना तथा २ अफिसियल र २ निर्णायकहरु गरी जम्मा १३ जनाले सहभागिता जनाउने संघद्वारा जारी बिज्ञप्तीमा जनाइएको छ ।