‘कबड्डी–३’को ‘दुबो फुल्यो’ गीत सार्वजनिक

निर्माण टिमले यही गीतमाथि कभर भिडियो प्रतिस्पर्धा पनि आयोजना गरेको छ

जनसम्मत
श्रावण ९, २०७६, बिहीवार

पोखरा । निर्देशक रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को गीत ‘दुबो फुल्यो’ सार्वजनिक भएको छ ।

भदौ १३ गते रिलिज हुने चलचित्रको सार्वजनिक गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारहरू दयाहाङ राई, कर्मा शाक्य, उपासना सिंह ठकुरी र विल्सन विक्रम राई प्रमुख फिचर्ड छन् ।

हेमन्त राना र ऋतिका श्रेष्ठको आवाज रहेको गीतमा एसडी योगीको संगीत र हर्क साउदको शब्द रहेको छ । रेनशा बान्तवा राईले भिडियोको निर्देशन गरेकी हुन् । वाइल्ड रिपर्ज ग्रुपको कोरियोग्राफी रहेको छ । निर्माण टिमले यही गीतमाथि कभर भिडियो प्रतिस्पर्धा पनि आयोजना गरेको छ । प्रतिस्पर्धामा सहभागी मध्येबाट उत्कृष्ठ पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः १ लाख, ७५ हजार र ५१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने निर्माण युनिटले जनाएको छ ।

चलचित्र स्वजातीय विवाह र अन्तर्जातीय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथाभित्र घुम्ने छ । निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले कथा लेखेका छन् । बाँसुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा ‘कबड्डी कबड्डी कबड्डी’ चलचित्र निर्माण भएको हो । शैलेन्द्र डी कार्कीले चलचित्रको छायांकन गरेका हुन् ।

यस चलचित्रमा रिश्मा गुरुङ, पुष्कर गुरुङ, कविता आले, लुनिभा तुलाधर, कमलमणि नेपाल, अरुणा कार्कीलगायतका कलाकारहरूको समेत अभिनय छ । चलचित्रमा मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियारले लगानी गरेका छन् ।