सीप सिकेर आत्मनिर्भर बन्न पोखरा महानगरकी उपप्रमुख मञ्जु गुरुङको आग्रह

जनसम्मत
चैत्र २७, २०७५, बुधबार

पोखरा २७ चैत । महिला सीप विकास संस्थाको आयोजनामा तीन महिने हाते तान बुनाई र २० डोरी बाटने तालिम दिएको छ ।

तालिममा ९७ जना महिला सहभागी भएको सीप विकास संस्थाका कार्यकारी निर्देशक रामकली खड्काले जानकारी दिइन् । तालिमको समापन गर्दै एक कार्यक्रमबीच सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ । महिलाहरुलाई तालिम दिएर स्वरोजगार बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको खड्काले जानकारी दिइन् ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले तालिमलाई व्यवहारमा कार्यान्वयन गर्न जोड दिदैं व्यवसायीक बन्न आग्रह गरिन् । उनले भनिन, ‘सिकेको सीपलाई सदुपयोग गरेर आर्य–आर्जन गर्न सके मात्रै तालिमको सार्थकता हुन्छ ।’

महिलालाई आर्थिक रुपमा अरुको भर पर्नुपर्ने अवस्था रहेको बताउँदै उपमेयर गुरुङले सीप सिकेर आत्मनिर्भर बन्नुपर्नेमा जोड दिइन् । ‘घर परिवारसँग पैसाका लागि हात थाप्ने हैन, आफै आत्मनिर्भर हुनुपर्छ,’ उनले भनिन् ।

उनले महागनगरले विगतमा तालिमका लागि थुप्रै लगानी गरेको भएपनि प्रतिफल प्राप्त गर्न नसकेका कारण महिलालाई आर्य–आर्जनका लागि ऋण लगानी गर्ने योजना अनुसार उपप्रमुखसंग महिला कार्यक्रम ल्याएको बताइन् । उनले सीप विकास संस्थाले महिलालाई तालिम दिएर स्वरोजगार बनाउँदै आएको बताइन् । उनले आफनो र संस्थाको उद्देश्य एउटै भएकाले सहकार्य गरेर अगाडि बढ्ने बताइन् ।

वडा नम्वर २७ का अध्यक्ष पूर्णकुमार गुरुङले महिलाहरुले सिकेको सीपलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए । पोखरा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष जीतबहादुर गुरुङले सीप विकास संस्थाले धेरै राम्रो काम गरेको बताउदै स्थानीय सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए । सीप विकास संस्थाका अध्यक्ष बन्दीकुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सचिव तारा गवुर्जाले पनि बोलेकी थिइन् ।

महिला सीप विकास संस्थामा ६ हजार महिला आवद्ध रहेका छन् । संस्थाले महिलालाई तालिम दिने र त्यही नै स्वरोजगार दिदैँ आएको छ । संस्थाले उत्पादन गर्ने ७५ प्रतिशत हस्तकलाका सामाग्री विदेश निर्यात हुने र २५ प्रतिशत मात्रै स्वदेशी बजारमा विक्री हुने संस्थाकी कार्यकारी निर्देशक रामकली खड्काले जानकरी दिइन् ।

यसैवीच कार्यक्रममा संस्थाले प्रकाशन गरेको नयाँ वर्ष २०७६ सालको क्यालेण्डर सार्वजनीक समेत गरिएको थियो । उपप्रमुख गुरुङले क्यालेण्डर सार्वजनीक गरेकी थिइन् ।