उपेन्द्र र छबिको जोडीलाई मिलिजुली ब्याडमिण्टनको उपाधि

जनसम्मत
श्रावण १५, २०७६, बुधबार

पोखरा । उपेन्द्र श्रेष्ठ र छबि सुवेदीको जोडीले पोखराको बगालेटोलस्थित सोंपाल तमु समाजमा आयोजित मिलिजुली कप मेन्स डबल्स ब्याडमिण्टन प्रतियोगिताको उपाधि जितेको छ ।

फाइनलमा शिव शर्मा र अमर महर्जनको जोडीलाई २१–१८ र २१–१८ को सोझो सेटमा पराजित गर्दै उपेन्द्र जोडीले उपाधि जितेको हो । प्रतियोगितामा नारायणहरि तिवारी र हेमकृष्ण श्रेष्ठ तथा दीपक मुल्मी र सुरेश श्रेष्ठको जोडीले तृतीय स्थान हाँसिल ग¥यो ।

गण्डकी प्रदेशका सांसद कृष्ण थापाले एक समारोहबीच विजयी खेलाडीहरुलाई ट्रफी, मेडलले पुरस्कृत गरे । पुरस्कार प्रदान गर्दै सांसद थापाले स्वस्थ्य नागरिक उत्पादन र अनुशासित समाज निर्माणका लागि यस्ता प्रतियोगिताले निरन्तरता पाउनुपर्नेमा जोड दिए ।

सोंपाल तमु समाजमा नियमित रुपमा ब्याडमिण्टन खेल्दै आएका खेलाडीहरुको विभिन्न २२ समूहको प्रतियोगितामा सहभागिता थियो । खेलाडीबीच भाइचारा अभिबृद्धिका लागि बेलाबखत मिलिजुली कप आयोजना हुँदै आएको प्रतियोगिता संयोजक ठाकुर सिग्देलले जानकारी दिए । सञ्जीबहादुर कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रम खेलाडी विजय शाहीले सञ्चालन गरेका थिए ।